काठमाडौं महानगरको बजेट १५ अर्ब, ५० करोड

बुलेटिन संवाददाता
१० असार २०७६, मंगलवार १२:५२

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजारको बजेट ल्याएको छ ।

काठमाडौं महानगरपालिकाले मंगलबार आयोजित नगरसभामा आगामी आर्थिक वर्षका लागि सो बजेट पेश गरेको हो । बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पूर्वाधार सुधार तथा अन्य विकास खर्चमा सबैभन्दा बढि ५१ दशमलव ७४ प्रतिशत बजेट अर्थात् ७ अर्ब ४३ करोड ९७ लाख ९२ हजार बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

त्यसैगरी पूँजीगत सम्पत्ति खर्चमा १ अर्ब ५५ करोड, तलव, पारिश्रमिक र सुविधा खर्च १ अर्ब ४१ करोड ५ लाख, कार्यालय संचालन खर्च ५९ करोड ४३ लाख ५० हजार, नेपाल सशर्त अनुदानबाट पूँजीगत खर्च ३ अर्व, ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनाका लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार बजेट विनियोजन गरिएको छ ।

उपप्रमुख खड्गीद्वारा प्रस्तुत बजेट चालू आर्थिक वर्षको भन्दा १९ प्रतिशतले बढि हो ।

बजेटमा जनताको जीवनस्तर, अम्दानी र रोजगारमा बढावा दिने कुरालाई उच्च प्राथमिकता दिइएको छ । उपमेयर खड्गीले गरिबी निवारणमा प्रत्यक्ष योगदान दिने विषयलाई पनि बजेटमा जोड दिइएको स्पष्ट पारिन् । बजेटमा चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म ६ अर्व २३ करोड ५७ लाख ९० हजार राजस्व संकलन गरिएको पनि उल्लेख गरिएको छ ।