चौतर्फी दबावपछि गुठी विधेयक फिर्ता लिएको सरकारको घोषणा

बुलेटिन संवाददाता
३ असार २०७६, मंगलवार ११:३५

३ असार, काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । चौतर्फी दबावपछि सरकार बिद्येक फिर्ता लिने निर्णयमा पुगेको हो । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ । गुठी बिद्येकको बिरोधमा देशैभर प्रदर्शन समेत भएको थियो ।

विधेयकलाई लिएर नागरिकमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई विथोल्ने कोसिस भएकाले विधेयक फिर्ता लिने निर्णय गरेको मन्त्री अर्यालले बताइन ।

नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गर्न भन्दै सरकारले वैशाख १६ गते राष्ट्रियसभामा विधेयक पेस गरेको थियो ।

सरोकारवाला निकायको चर्को दबाबपछि सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको हो । धर्म संस्कृति परम्परा, सम्पदा नास हुने भन्दै विधेयकको विरुद्धमा काठमाण्डौ उपत्यकाका नेवार समुदाय आन्दोलित बनेका थिए ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ उपत्यकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग पनि विधेयकका सम्बन्धमा परामर्श गर्नु भएको थियो । आफ्नै पार्टीका सांसदहरुले पनि विधेयक फिर्ता लिनुपर्ने आवाज उठाएपछि सरकार विधेयक फिर्ता लिन बाध्य बनेको हो ।