४ सय ३३ किलोमिटर दौडिदै बुटवल आइपुगे साहित्यकार लक्ष्मण

बुलेटिन संवाददाता
३१ जेष्ठ २०७६, शुक्रबार १२:०७

सगरमाथा चढेर नेपालको नाम विश्वमा चिनाउनु, सबैले आर्थिक सहयोग गरिदिनूस्’

३१ जेठ, बुटवल । नमोबुद्ध लुम्बिनी साहित्यिक दौड’ मा निस्किएका धावक तथा साहित्यकार लक्ष्मण सापकोटा बुटवल आइपुगेका छन् ।

पृथ्वी र सिद्धार्थ राजमार्गको पाँच सय किलोमिटर दूरीपार गर्दै उनी १५ दिनमा बुद्ध जन्म स्थल लुम्बिनी पुग्नेछन् । धावक सापकोटा भोली भैरहवा र पर्सी लुम्बिनी पुग्नेछन् ।

गत जेठ १८ गते काभ्रेको नमोबुद्धबाट ‘नमोबुद्ध– लुम्बिनी साहित्यिक दौड’ सुरु गरेका सापकोटा तेह्रौं दिनमा बुटवल आइपुगेका हुन् । उनलाइ बुटवलमा सम्मान र स्वागत समेत गरिएको छ ।

नमोबुद्धबाट शुरु भएको दौड सूर्यबिनायक, थानकोट, नौबिसे ,बैरेनी बेनीघाट,मुग्लीन,डुम्रे,थर्पु,पोखरा, स्याङ्जा, पाल्पा, बुटवल हुँदै असार २ गते लुम्बिनी पुगेर सम्पन्न हुने छ ।

नेपालमा हिमालको बारेमा साहित्य लेखिनुपर्नेमा धावक सापकोटाले जोड दिए । ‘मरुभूमि र समुद्र किनारमा साहित्यकै माध्यमबाट पर्यटक पुग्ने भन्दै उहाँले नेपालमा सगरमाथा, हिमाली जडिबुटी, रारा ताल, लुम्बिनी, पशुपतिनाथको प्रर्बद्धनमा सबै लाग्नुपर्छ ’उनले बुटवलमा संचारर्मीसंग भने ।

साहित्यिक जागरण र नेपालमा पर्यटक बढाउने उद्धेश्यले दौडमा निस्किएका सापकोटाले आगामी २०७७ जेठमा केही साहित्यिक कृति र नेपालको झण्डासहित सगरमाथा आरोहण गर्ने तयारीमा रहेको बताए । उनले सगरमाथा चढ्ने र नेपालको नाम उचा राख्ने प्रतिबद्धता जनाए । ‘तर रकमको अभाबले समस्या नहोस् भनेर कोष बनाइएको छ ,सबैको सहयोग रहोस् ’उनले भने ।

सगरमाथाको शिखरमा पुगेर कविता बाचन गर्ने र नेपालको नाम बिश्वमा चिनाउने उनको इच्छा छ । उनले यसअघि २०७१ मा सोलुखुम्बुको इम्जात्से आइल्याण्ड र विसं २०७४ मा मेरापीक हिमालको आरोहण गरिसकेका छन् ।

सापकोटाले विसं २०७२ मा दुई सय १७ किलोमिटरको काठमाण्डौ–बर्दिबास (बीपी राजमार्ग) र विसं २०७३ मा मेची–महाकालीसम्मको एक हजार २६ किलोमिटर दौड सम्पन्न गरेका थिए ।

५१ बर्षिय सापकोटाले यसअघि २०७३ असोजमा १८ दिन दौडेर मेची महाकाली साहित्यिक दौड पूरा गरिसकेका छन् ।
सापकोटाले हिमाल आरोहणमा आर्थिक सहयोग जुट्दै गएको भन्दै सहयोगका लागि कोष बनाइएको समेत बताए । उनले मेरापिक हिमाल आरोहणको क्रममा सगरमाथालाई सुनाएको आफ्नो कविता ‘जीवन’ समेत वाचन गरेर सुनाए ।

साक्षात्कार कार्यक्रमको संचालन रिपोर्टर्स क्लवका प्रदेश सदस्य कपिल ज्ञवालीले गरेका थिए । सो अबसरमा बोल्दै कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले सापकोटाको हिम्मतबाट नेपाली राजनीतिकर्मीले धेरै सकारात्मक पाठ सिक्नुपर्ने बताउदै यात्राको सफलताको कामना गरे ।