अग्रज पत्रकार रिसाल सम्मानित

बुलेटिन संवाददाता
९ चैत्र २०७५, शनिबार १६:१६

९ चैत, पोखरा। स्वतन्त्र पत्रकार संघ नेपालद्वारा संचालित सामाजिक पत्रकारिता पुरस्कार–२०७५ द्वारा अग्रज पत्रकार भैरव रिसाल पोखरामा पुरस्कृत भएका छन् ।

पोखराका वरिष्ठ समाजसेवी लीलाभक्त आचार्य र उनका परिवारद्वारा स्थापित उक्त पुरस्कार आयोजित समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले रिसाललाई दोसल्ला ओढाउँदै नगद २५ हजार रुपैयाँ र सम्मानपत्रद्वारा पुरस्कृत गरेका हुन् । सो पुरस्कार पाउने रिसाल पहिलो हुन् ।

९० वर्षको उमेरसम्म पनि क्रियाशील भक्तपुर दधिकोटका पत्रकार रिसाल सगरमाथा एफएममा हाल पनि कार्यरत छन् ।

यसैगरी, संघले प्रत्येक वर्ष प्रदान गर्ने पत्रकार महिला सम्मान–२०७५ बाट धरानबाट प्रकाशित दिव्य रोशनी साप्ताहिककी सम्पादक मनिता राई (चाम्लिङ) लाई पुरस्कृत गरियो । मुख्यमन्त्री गुरुङले पत्रकार मनितालाई पुरस्कार राशि ५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका थिए ।

दुवै पुरस्कारको लागि प्रतिभा छनोट गर्न संघका सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा चयन समिति गठन गरिएको थियो । छनोट समिति सदस्यमा समाजशास्त्री डा. विश्वकल्याण पराजुली, पत्रकार महिला सम्मानबाट पूर्व सम्मानित पत्रकार दुर्गा अधिकारी, पदेन सदस्य संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला र महासचिव नवराज पहाडी रहेका थिए ।

सामाजिक पत्रकारिता पुरस्कारका लागि ५ वर्षअघि आचार्य परिवारले ५ लाखको अक्षयकोष स्थापना गरेका थिए।

पुरस्कृत पत्रकार रिसालले २०१२ सालदेखि हालखबर पत्रिकामा समाचारदाता रहेर पत्रकारिता शुरु गरेका हुन् । पत्रकारिता र सामाजिक कार्यमा क्रियाशील उनी वातावरण पत्रकारिताका अग्रज मानिन्छन्।

पत्रकारिताको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएवापत जगदम्बाश्री पुरस्कार, अब्राहम कन्जरभेसन अवार्ड, राष्ट्रिय पत्रकारिता पुरस्कार, हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार, प्रजातन्त्र स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान, विज्ञान प्रविधि प्रवद्र्धन पुरस्कार लगायतबाट उनी सम्मानित भइसकेका छन्। राससमा लामो समय क्रियाशील उनको सगरमाथा रेडियोमा प्रत्येक मंगलबार ‘कुरो कुन्थो’ अझै प्रसारित हुन्छ ।

उनका ‘त्यतिबेलाको पत्रकारिता’ पुस्तकमा सहलेखन गरेका रिसालका ‘नेपालका मन्त्री र सांसदहरु’, ‘सुशीला भैरव’, ‘भैरव दाइको जीवन्त ग्रन्थ’, ‘हात्ती’, ‘साधुलाई सुली’ नामक कृति प्रकाशित भएका छन् । उनी लगायत पुरस्कारबाट सम्मानित भैसकेका छन् । त्यस्तै, स्वतन्त्र पत्रकार संघ नेपालद्वारा सञ्चालित तथा समाजसेवी सूर्यनाथ उपाध्याय तथा परिवारद्वारा स्थापित पत्रकार महिला सम्मानबाट पुरस्कृत मनिताले २०५३ देखि सिरेटो साप्ताहिकबाट पत्रकारिता शुरु गरेकी हुन््। यसअघि, सो पुरस्कारबाट दुर्गा अधिकारी (कास्की), शीला गुरुङ (पर्वत), रवीना आलेमगर (तनहुँ), शान्ति राणा (कास्की), ईश्वरी पौडेल (स्याङ्जा) र सीता दर्नाल (रुपन्देही) सम्मानित भइसकेका छन् ।

पुरस्कृत व्यक्तित्व रिसालले पत्रकारिताबाट नै समाज परिवर्तन गर्न सकिने र लोकतन्त्र स्थापनामा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। नेपालमा विकास निर्माण कार्य जुनरुपमा अगाडि बढ्नुपर्ने थियो, त्यो हुन नसकेको उनको गुनासो थियो । उनले समयलाई बुझ्न नसक्दा नेपाली पछि परेको पनि टिप्पणी गरे ।

सामाजिक पत्रकारिता पुरस्कारका संस्थापक लीलाभक्त आचार्यले स्वतन्त्र पत्रकारिताले नै समाजलाई सही बाटोमा लैजान सक्ने बताए।

प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुलीले पार्टी पत्रकारितामा नभई स्वतन्त्र पत्रकारितामा लाग्न सम्पूर्ण पत्रकारलाई आग्रह गरे।

त्यस्तै, सम्मानित पत्रकार मनिता चाम्लिङले स्वतन्त्र पत्रकारिताको आन्दोलन आफूले धरानबाट शुरु गर्ने बताइन्।

नेपाली काँग्रेसका नेता शोभियतबहादुर अधिकारीले स्वतन्त्र पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण गर्न सुझाव दिएका थिए।

पुरस्कार छनौट समिति संयोजक पत्रकार नारायण कार्कीले पुरस्कृत व्यक्तित्व रिसाल र छनोट समिति सदस्य पत्रकार दुर्गा अधिकारीले पत्रकार मनिताको परिचय दिएका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गरेका थिए भने स्वागत मन्तब्य संघका राष्ट्रिय महासचिव नवराज पहाडीले राखेका थिए । कार्यक्रममा एपी देवकोटा बोर्डिङ स्कूलका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन शान्ति राणाले गरेकी थिइन्।