प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : मुख्यमन्त्री गुरुङ

बुलेटिन संवाददाता
६ मंसिर २०७५, बिहीबार १६:२३

६ मङ्सिर, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको पालनामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्कीले आज आयोजना गरेको प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि नीतिगत छलफल कार्यक्रममा उनले कानून, आफ्नो सीमा र हैसियत अनुसार प्रेस स्वतन्त्रतालाई सम्मान गर्दै काम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आमसञ्चार नीति बनाउन लागेको जानकारी दिदैं “प्रदेश सरकारले आमसञ्चार नीतिको मस्यौदा तयार गरिसकेको छ, यसबारेमा मन्त्रिपरिषद्मा समेत छलफल भएको छ”, भने ।

सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षा, संरक्षण तथा श्रमजीवीका विषय सञ्चारनीतिमा समावेश भएकाले सबै विषय यसले सम्बोधन गर्ने धारणा पनि उनले ब्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रदेश तथा स्थानीय सरकारले सञ्चार नीति बनाउँदा सरोकार भएकालाई सहभागी गराउन आग्रह गरे ।

महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयका विज्ञापन स्थानीय सञ्चार माध्ममै प्रकाशन प्रसारण हुने व्यवस्था गर्न माग गरे ।

महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सरकारका असल काममा पत्रकारिता क्षेत्रले सदैव सहयोग गर्ने र गलत कार्यमा आलोचना गर्ने बताए ।

छलफलमा सहभागी सञ्चारकर्मीले प्रदेश सरकारले बनाउने नयाँ सञ्चारनीतिमा स्थानीय सञ्चारमाध्यमको सवलीकरण, समानुपातिक विज्ञापन नीति, न्यूनतम पारिश्रमिक लागू हुनुपर्ने लगायत विषयमा जोड दिएका थिए ।