काठमाडौँ अधिवेशनको पुनः निर्वाचन गर्न क्रान्तिकारी पत्रकारको माग

बुलेटिन संवाददाता
१७ बैशाख २०७४, आईतवार ०६:५०

काठमाडौँ, वैशाख १७ – मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा क्रान्तिकारी माओवादीनिकट क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महसंघको काठमाडौँ अधिवशेनको निर्वाचन परिणाम खारेज गर्दै पुनः निर्वाचन गर्न माग गरेको छ ।

बैशाख ८–१० मा सम्पन्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको दशौं अधिवेशनमा संगठनका महासचिव केशरमणि कटुवाल र काठमाडौं जिल्ला संयोजक रामचन्द्र हुमागाईंले शाखाले तय गरेको प्रक्रिया पूरा गरेर केन्द्रीय पार्षद्का लागि उम्मेदवारी दिएकोमा निर्वाचन समितिले उनीहरुको नाम प्रदेश पार्षद्को सूचिमा प्रकाशित गरेको क्रान्तिकारी पत्रकार महसंघले आरोप लगाएको छ ।

महासंघका अध्यक्ष इन्द्र राउतले विज्ञप्ति जारी गर्दै यसप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘हाम्रो संगठनको अस्तित्वमाथि धावा बोलिएको अर्थमा हाम्रो संगठन यसको कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्दछ । र, यो निर्णयलाई खारेज गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले नेपाल पत्रकार महासंघको साझा चरित्रलाई धुलिसात पार्दै एकाध संगठनको बर्चस्व स्थापित हुने गरी महासंघको विधि र विधानविपरीत निर्वाचन समिति र महासंघको नेतृत्वले प्रदर्शन गरेको स्वेच्छाचारिता र निर्लज्जताले हाम्रो संगठनलाई निकै गम्भीर बनाएको जनाएको छ ।

‘यो सामान्य र अन्जानबस भएको कमजोरी नभई नियोजित रुपमा नेपाल पत्रकार महासंघभित्र हुर्किरहेको फासिवादी, निरंकुश र निषेधकारी प्रवृत्ति बोकेका सिन्डिकेटवाला ‘विचौलिया’हरुको व्यवहारको अभिव्यक्ति हो । यो प्रवृत्तिले नेपाल पत्रकार महासंघलाई आम श्रमजीवि पत्रकारहरुबीचमा मात्रै होइन, सिंगो नागरिक समाजमा बद्नाम र घृणित तुल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, यो प्रवृत्तिका विरुद्ध लड्न आम श्रमजीवि पत्रकार र क्रान्तिकारी पत्रकारहरुमा हाम्रो संगठन अपील समेत गर्दछ ।’

महसांघले आफ्नो कमजोरी सार्वजनिक रुपमा स्वीकार गर्दै २४ घण्टाभित्र काठमाडौं अधिवेशनको निर्वाचन समिति र नेपाल पत्रकार महासंघको नेतृत्वले यस घटनाको चित्तबुझ्दो जवाफ दिन माग गरेको छ । त्यसो गर्न नसके तत्काल निर्वाचनका सबै परिणाम खारेज गर्दै महासंघको विधि र विधान अनुसार पुनः निर्वाचनको घोषणा गर्न पनि माग गरिएको छ ।

आफ्नो माग पुरा नगरे संगठन यो प्रवृत्तिका विरुद्ध जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावानी दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट उत्पन्न परिणामको जिम्मेवार र जवाफदेही स्वयम् निर्वाचन समिति, पत्रकार महासंघको जिल्ला–केन्द्रीय नेतृत्व र सिन्डिकेटवाला संगठन हुनेछन् ।’

 

रातोपाटीबाट लिईएको