स्थानीयले दिए वडा कार्यालयलाई निशुल्क जग्गा

0
30
Google search engine

तोलाकान्त बगाले
वालिङ, ९ फागुन ।
यहाँका स्थानीयले वडा कार्यालयको भवन बनाउनकालागि निशुल्क जग्गा दिएका छन् । स्याङ्जाको वालिङ नगरपालिका वडा नं ११ को वडा कार्यालय भवन बनाउनकालागि डौंवाका स्थानीय तीन परिवारले वडाको नाममा जग्गा उपलब्ध गराएका हुन् ।
विगत ७ वर्षदेखि भाडाको घरबाट वडा कार्यालयले सेवा दिंदै आईरहेकाले वडाको आफ्नै भवन बनाउनकालागि जग्गा प्राप्त भएको वडाअध्यक्ष डण्डु पंगेनीले बताउनुभयो । “भाडामा रहेको घरबाट वडाबासीलाई सेवा दिंदै आएका छौं” उहाँले भन्नुभयो, “डौंवाका स्थानीयले वडाको नाममा जग्गाधनी पूर्जा उपलब्ध गराउनुभएको छ ।”
वडाको पायक पर्ने ठाउँमा जग्गा प्राप्त भएकाले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजन गरी भवन निर्माणको प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको उहाँले बताउनुभयो । “वडा कार्यालयले भवन निर्माणकालागि जग्गा खोजिरहेको थियो” उहाँले भन्नुभयो, “हाल जुन ठाउँमा वडा कार्यालय रहेको छ त्यसैको नजिकै निशुल्क जग्गा प्राप्त भएको छ, जग्गा उपलब्ध गराउने जग्गादाताहरुप्रति आभारी छौं ।”
स्थानीय तीन परिवारले वडाको नाममा एक रोपनी ३ आना २ दाम जग्गा उपलब्ध गराएका वडा सचिव लक्ष्मीप्रसाद अर्यालले बताउनुभयो ।
डौंवाका स्थानीय ठगप्रसाद पंगेनी, हरिप्रसाद पंगेनी तथा स्वर्गीय धनप्रसाद अर्यालको परिवारले जग्गा उपलब्ध गराएको हो । स्वर्गीय अर्यालको परिवारले ७ आना ३ पैसा २ दाम, हरिप्रसाद पंगेनीले ६ आना ३ पैसा १ दाम र ठगप्रसाद पंगेनीले ४ अना १ पैसा ३ दाम गरी कूल एक रोपनी ३ आना २ दाम जग्गा वडाको नाममा नामसारी भएको वडा सचिव अर्यालले जानकारी दिनुभयो ।
“बाटोको निकास भएको वडाको पायक पर्ने ठाउँमा जग्गा प्राप्त भएको छ” सचिव अर्यालले भन्नुभयो, “पायकमा भएकाले पनि सेवाग्राहीलाई सहज हुने छ ।”
त्यस्तै सोही वडाको कागतीभञ्ज्याङमा रहेको कागतीभञ्ज्याङ स्वास्थ्य चौकीकालागि स्थानीयले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । गाउँमै आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यसहित स्थानीय ऋषिराम शर्माले स्वास्थ्य चौकीको नाममा ४ आना जग्गा निशुल्क दिनुभएको हो । वडा कार्यालय तथा स्वास्थ्य चौकीकालागि निशुल्क प्राप्त भएको दुई वटै जग्गा गत आईतबार नामसारी गरिएको हो ।

Google search engine
Google search engine