स्थानीय कानुन बनाउँदै तिलोत्तमा नगरपालिका विभिन्न ऐनको मस्यौदा तयार

बुलेटिन संवाददाता
४ माघ २०७४, बिहीबार १३:३५

४  माघ, तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न ऐन, नियमावलीको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरपालिकाले विभिन्न स्थानीय ऐनको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको हो । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा यहीँ माघ ८ गतेबाट सुरु हुँदैछ ।

विभिन्न ऐनको मस्यौदामाथि दफावार छलफल गरेर नगरसभाबाट पारित भएपछि त्यसलाई १५ दिनभित्र नगर प्रमुखले प्रमाणिकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको नगरपालिकाका कानुनी सल्लाहकार खुमाकान्त पौडेलले जानकारी दिनुभयो ।

यसरी प्रमाणिकरण भएको ऐन प्रमुख प्रशासकीय अधिकृतले राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले कतिपय ऐन पहिलो नगरसभाबाट पारित गरेर कार्यान्वयन गरिसकेको छ । नगरपालिकाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको ढाँचामा संघीय कानुनसँग नबाझिने गरी स्थानीय ऐनको मस्यौदा तर्जुमा गरेको हो ।

नेपालको संविधान २०७२ को अनुसुची ८ मा स्थानीय तहको २२ वटा एकल अधिकार तोकिएको छ भने अनुसुची ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची उल्लेख छ । स्थानीय ऐनका कुनै प्रावधान प्रदेश कानुनसँग बाँझिन गएमा त्यस्ता प्रावधान स्वतः प्रदेश कानुनअनुसार हुने कानुनी सल्लाहकार पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाले कतिपय ऐनको मस्यौदाउपर सरोकारवालाहरुसँग छलफल गरिसकेको छ । मूलतः शिक्षा र सहकारी ऐनको मस्यौदामा धेरैले चासो राखेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । प्रमाणिकरण र प्रकाशन, कृषि व्यवसाय प्रवद्र्धन, बजार अनुगमन, आर्थिक कार्यविधिलगायतका ऐनको मस्यौदा नगर उपप्रमुखको संयोजकत्वमा रहेको विधेयक मस्यौदा उपसमिति र नगर कार्यपालिका बैठकबाट समेत पारित भैसकेको छ । नेपालको संविधानले स्थानीय तहलाई दिएका अधिकारको सूचीको अधिनमा रही विभिन्न ऐनको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी भैरहेको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो ।

नगरकार्यपालिकाको बुधबारको बैठकमा कानुनी सल्लाहकार पौडेलले ऐनको मस्यौदा प्रस्तुत गरेका थिए । कार्यपालिका सदस्यहरुले शिक्षा र सहकारी ऐनको मस्यौदा थप अध्ययन गर्र्न समय मागेपछि अर्को बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको छ । कार्यपालिकाको बुधबारको बैठकले नगरको भूउपयोग नीति तयार गर्न प्रा.डा. भोजराज कडेरियाको संयोजकत्वमा उपसमिति गठन गरेको छ । यस्तै तिलोत्तमालाई प्लाष्टिक झोला र प्लाष्टिक गिलासमुक्त नगरपालिका बनाउन आवश्यक मापदण्ड निर्धारण गर्न केशवराज न्यौपानेको संयोजकत्वमा उपसमिति गठनलगायतका निर्णय कार्यपालिका बैठकले गरेको छ ।