अनिश्चितकालिन रुपन्देही बन्द रातिमा पनि जारी रहने

बुलेटिन संवाददाता
२२ पुष २०७४, शनिबार १२:३०

नारायण वली

२२ पुस, बुटवल । अपरिचित समुह द्धारा हिजो हत्या गरिएका युवा संघ नेपाल रुपन्देहीका नेता तथा स्थानीय व्यवसायी वसन्त पौडेलका हत्यारालाई कानुनी कट्घरामा नल्याउँदा सम्म वन्द नखुल्ने भएको छ । अहिले केहीवेर अगाडी वसेको युवा संघ नेपाल रुपन्देहीको वैठकले वन्द नखुलाउने निर्णय गरेको युवा संघका जिल्ला अध्यक्ष नकुल शाहीले जानकारी दिएका छन् ।

कमजोर राज्यको फाईदा उढाउँदै रुपन्देहीमा निरन्तर हत्याका घटना घट्नुले प्रशासनको कमजोरी रहेको वताउँदै वसन्तको हत्यारालाई कारवाही नहँुदा सम्म वन्द नखुल्ने र भोली पनि वन्दको कार्यक्रम जारी रहेको युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य देवराज पोख्रेलले जानकारी दिदै वेलुकी ५ वजे पछि वन्द नखुल्ने बताएका छन् ।

यसैवीच आज दिनभर रहेको वन्दमा कुनैपनि अप्रिय घटना नघटेको र हत्याराको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिएका छन् । रुपन्देहीको बन्दका कारण आज जिल्लाको जनजीवन प्रभावित भएको छ । रुपन्देहीको देबदह नगरपालिका ढेकावारका युवा संघका नेता तथा स्थानिय व्यापारी वसन्त पौडेल वलुको गोली हानी हत्या भएपछि युवा संघ आजदेखि अनिश्चितकालिन बन्दमा उत्रेको हो । संघले हत्यामा संलग्नलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गर्दै हड्तालमा उत्रेको वताएको छ । बन्दका कारण विहानैदेखि बुटवल बजार वन्द रहेको छ ।

बन्दकर्ताहरु बुटवल र देवदह क्षेत्रमा जम्मा भएर प्रहरी प्रशासनको विरोधमा दिनैभर नाराबाजी गरेका छन् । बन्दका कारण पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल खण्ड भएर चल्ने गाडी ठप्प भएका छन् । बजार खुलेको छैन । हत्याको जिम्मा मनोज पुनले लिएका कारण उनको खोजीमा प्रहरी सकृय रुपमा लागि रहेको र हत्यामा संलग्नको खोजी भइरहेको रुपन्दही प्रहरीले बताएको छ ।

हत्यामा संलग्नले फोन गरेर सार्वजनीक रुपमा हत्या गरेको बताउँदा पनि प्रहरीले अपराधी पक्राउ गर्न नसकेकाले पछिल्लो समय रुपन्देहीका व्यापारीहरु कोही पनि सुरक्षित नभएकोले बन्द गर्नुको बिकल्प नरहेको युवा संघ नेपाल रुपन्देही बताएको छ । एक बर्षअघि युवा संघका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको दावी गरेका मनोज पुनले पौडेलको हत्याको पनि जिम्मेवारी लिएका छन् । अहिले देवदह क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।