बिभिन्न माग गर्दै दुई दिनसम्म बन्द रहेको सिंह कम्प्लेक्स आज देखि पुन संचालनमा

बुलेटिन संवाददाता
३० कार्तिक २०७४, बिहीबार १०:५४

३० कार्तिक, बुटवल । सुरपदमा हाउजिङ प्रालि तथा सिंह कम्प्लेक्स सञ्चालक र व्यवसायीबीच एक बुंदे सहमति भएको छ । कम्प्लेक्स सञ्चालकले आफुखुशी मनोमानी गरेको आरोप लगाउंदै व्यवसायीले दुई दिनसम्म सटर बन्द गरी माग पुरा गर्न आग्रह गर्दै आन्दोलनमा उत्रेका थिए ।

मंगलबार  व्यवसायीहरु  सञ्चालकसग सो बारेमा कुरा गर्न जादा सञ्चालकले धम्किपूर्ण भाषा प्रयोग गरेको भन्दै गत मंगलबार र बुधबार सटर तथा पसल बन्द गरी नौ बुंदे माग अघि सारेका थिए । व्यवसायीले विभिन्न मागसहित पसल नै बन्द गरेपछि कम्पलेक्स व्यवस्थापकले आगामी पुस पहिलो हप्ता भित्र सबै माग पुरा गरिदिने १ बुंदे लिखित सहमति गरेका छन् ।

सिंह कम्प्लेक्समा व्यवसाय गर्दै आएका व्यवसायीले घरवाल ऐन अनुसार भाडा कायम गरिनुपर्ने, धरौटी रकममा एकरुपता हुनुपर्ने, दुई वर्षमा १० प्रतिशत मात्र भाडा बढाउनु पर्ने, प्रत्येक महिनाको ४ गते भित्र बुझाउनु पर्ने भाडा ७ गतेदेखि १० गतेसम्म बुझाउन पाउनुपर्ने, कूनैपनि व्यवसायीले समयमा भाडा बुझाउन नसके विद्युतको लाईन काट्न नपाईने, कूनैपनि व्यवसायीले छ महिनासम्म पनि भाडा बुभाउन नसकेर आलटाल गरेमा उसको समस्यालाई बुझेर मात्र आवश्यक कारवाहीको प्रकृया अघि बढाउनु पर्ने, जथाभावी भाडा बढाउन नपाईने व्यवसायीका माग रहेका थिए ।

विभिन्न माग राख्दै व्यवसायीले सञ्चालकलाई दबाब दिएपछि बुधबार सांझ कम्प्लेक्सका व्यवस्थापक प्रत्यूष मान सिंह, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल, नेपाल घरवहाल सरोकार महासंघका अध्यक्ष शंकर कोईराला, व्यवसायी र सुधार समितिका प्रतिनिधिबीच भएको वार्तामा व्यवस्थापकले पुस महिनाको पहिलो हप्ता भित्र व्यवसायीका माग पुरा गर्ने लिखित सहमति भएको छ ।

सिंह कम्पलेक्सका व्यवस्थापकले व्यवसायीका मागहरुलाई पुसको पहिलो हप्ता पुरा गर्दिने लिखित सहमति गरेपछि आजदेखि व्यवसाय सञ्चालन गरिएको व्यवसायी ईश्वर गुरुङले बताए । उनले पुस ७ गतेसम्म माग पुरा नभए ८ गतेदेखि आन्दोलनमा उत्रने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।