आशा र भरोषा जगाउने साहित्य लेखौं : परराष्ट्रमन्त्री ज्ञवाली

संवृद्ध नेपाल निर्माणमा कला साहित्यको भूमिका विषयक कार्यक्रम
बुलेटिन संवाददाता
२७ भाद्र २०७६, शुक्रबार २०:१६

२७ भदौ, बुटवल । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवृद्ध नेपाल निर्माणकालागि कला र साहित्यको ठूलो भूमिका हुने बताएका छन ।

त्यसका लागि निराशाको सट्टा आशा र भरोषा जगाउने साहित्य रचना गर्न उहाले आग्रह गरे । मदन भण्डारी कला साहित्य प्रतिष्ठान प्रदेश ५ ले शुक्रबार बुटवलमा आयोजना गरेको संवृद्ध नेपाल निर्माणमा कला साहित्यको भूमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले पछिल्लो समय व्यक्तिले पहिचानको लडाई लड्दा देश र राष्ट्रियताको पहिचान कमजोर भएको बताए ।

राष्ट्रियता कमजोर हुन नदिन जातियता र क्षेत्रीयता भन्दा माथि उठेर काम गर्न उनले सुझाब दिए । ‘राजनीतिले तोडेको मन साहित्यले जोड्न सक्छ,’ उनले भने, ‘अब साहित्यकारहरुले निराशा होइन आशा र भरोसा दिने रचना नागरिकमाझ पुर्याउनुपर्छ ।’ श्रष्टा निन्दक नभइ आलोचक हुनुपर्ने उनले बताए । त्यसकालागि समाज सुधार र विचार प्रेरक रचना रच्न र नागरिकबीच पुर्याउन आग्रह गरे ।
अबको समयमा नेतादेखि कार्यकर्ताहरु व्यक्ति भन्दा देश बनाउन लाग्नुपर्ने मन्त्री ज्ञवालीले बताए ।

देश बिर्गे र राष्ट्रियता मरे जगाउन नसकिने भन्दै राष्ट्रवादलाई नागरिकको घरघरमा पुर्याउन उनले आग्रह गरे । उनले अवसर लिने र भ्रम फैलाउनेहरु पार्टीभित्र र बाहिर रहेकाले त्यसबाट बच्न समेत सुझाब दिए ।
नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले राजनीतिक विचारलाई स्थापित गर्न साहित्यमार्फत जोड्नुपर्ने बताए । उनले नयां पंक्तिलाई राजनीतिक विचारले प्रभाव पार्न पनि कला साहित्य लगायतका गतिविधी आवश्यक रहेको बताए ।

मदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यले मदन भण्डारीको विचार र समाज सुधारको नीति नागरिकमाझ पुर्याउन फाउण्डेशन खोलिएको बताए ।
मदनभण्डारी कला साहित्य प्रतिष्ठान प्रदेश ५ का अध्यक्ष अजीत खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सांसद थानकुमारी थापा, बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, लगायतले साहित्यबाट चेतनाको दीयो बाल्न आग्रह गरे ।
कार्यक्रममा प्रदेश ५ स्तरीय निबन्ध प्रतियोगिताबाट पुरस्कृतहरुलाई सम्मान गरिएको थियो ।

जसमा प्रथम पुरुशोत्तम पाण्डे, द्धीतीय सावित्री गिरी र तृतीय माधव पौडेल भएका छन् । उनीहरुलाई ३० हजार, २० हजार र १० हजार रुपैयाबाट पुरस्कृत गरिएको अध्यक्ष अजीत खनालले बताए ।