देश लुटेको पैसा मिडियामा लगानी गरेका छन् : मन्त्री यादव

बुलेटिन संवाददाता
२७ भाद्र २०७६, शुक्रबार १८:३२

२७ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले छापामा आएका समाचारको विषयलाई लिएर सञ्चारजगतप्रति रोष प्रकट गरेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औ वार्षिकोत्सव समारोहमा मन्त्री यादवले सम्पूर्ण प्रेस जगतप्रति आक्रोश पोखेका हुन् । उनले पत्रिकाका मालिकहरु व्यापारी पनि भएकाले आफु अनुकूलका समाचार लेखाउने गरेको आरोप लगाए । कालोबजारी, तस्कर, भ्रष्ट र विगतमा देश लुटेको पैसा मिडियामा लगानी गरेकाहरु नै आफु र सरकारविरुद्ध उत्रिएको मन्त्री यादवको आरोप छ ।

‘पत्रिकाका मालिकहरु पनि व्यापारी छन् । खुद पत्रिका मात्रै चलाएर बसेका छैनन् । ठूला ठूला व्यापारी छन्,’ मन्त्री यादवले भने, ‘कतिपय मिडियाहरु त कालाबजारी र तस्करहरुको छ । भ्रष्ट, विगतमा देश लुटेको पैसा लगानी गरेको मिडियाहरु पनि छन् ।’

उनले मिडियाले समाचार छापेर आफूसँग पैसाको बार्गेनिङ गरेको पनि दाबी गरे । राज्यको चौथो अंग भन्ने मिडिया सधैं प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख मन्त्री यादवले बार्गेनिङ गर्न खोज्नेप्रति ‘मिडिया म्यानेज’ गर्न नजाने बताए ।

‘आक्रामक हुनुपर्छ रे । नभएको कुरा पनि लेख्दिनुपर्छ भन्ने छ । अनि त्यसपछि ती मन्त्रीहरु म्यानेज गर्न आउँछन्,’ उनले भने, ‘ती कर्मचारीहरु म्यानेज गर्न आउँछन् । जे जे लेखे पनि मातृका कहिले काहीँ पनि म्यानेज गर्न जादैनन् । म त्यो कहिल्यै पनि गर्दिनँ । बरु लेखोस् ,जे जे लेखोस् लेखोस् ।’

मन्त्री यादवले जबरजस्ती पत्रिकाहरुले सरकारलाई साल्ट ट्रेडिङ्गको विरोधमा उभ्याउने काम गरेको आरोप पनि लगाए । सरकारले निकासी पैठारी सम्बन्धमा अत्यावश्यक वस्तु आयातबारे मात्रै भिन्न व्यवस्था गरेको भए पनि साल्ट ट्रेडिङ्ग कर्पोरेसनले गर्दै आएको काम निजी क्षेत्रलाई दिने कुनै निर्णय नभएको स्पष्ट पारे ।