प्रहरी नायब निरीक्षक बनी धम्क्याउने एक जना प्रहरी नियन्त्रणमा

बुलेटिन संवाददाता
२७ भाद्र २०७६, शुक्रबार १८:२६

२७ भदौ, डडेल्धुरा । डडेल्धुरामा नक्कली प्रहरी नायब निरीक्षक बनी धम्क्याउने एक जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आज नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत तथा मुद्दा फाँटको प्रमुख करवीर ऐर हुँ भनी अमरगढी नगरपालिका-६ छचोडाँका स्थानीय महेश ताम्राकारले ९८६५६७३४७० को नम्बरबाट सोही ठाउँका स्थानीय खड्ग ताम्राकारलाई ९८४२२०२११२ नम्बरमा फोनबाट गालीगलौज गरेका थिए ।

फोनबाट उनले आफू प्रहरी नायब निरीक्षक करवीर ऐर हुँ भन्दै हिजो बिहीबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित नभए प्रहरी लगाएर पक्राउ गर्ने भनी बुधबार राति १ बजे गाली गरेपछि बिहीबार ताम्राकार डडेल्धुरा जिल्ला प्रहरी कार्यालय पुगेका थिए । मुद्दा फाँटमा कार्यरत प्रहरी नायब निरीक्षक ऐरकहाँ पुगेपछि आफूले फोन नगरेको भन्दै मोबाइल नम्बर पत्ता लगाउँदा अमरगढी-६ का महेश ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

गाउँका सोझासाझा जनतालाई नक्कली प्रहरी बनी दुःख दिन खोजेको भन्दै उनलाई आज जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उपस्थित गराइएको प्रहरी निरीक्षक लक्ष्मण खड्काले बताए । ‘‘यस विषयमा अनुसन्धान भइरहेको र निजलाई कानूनअनुसार कारवाही हुनेछ’’, पनि खड्काले भने ।