लामखुट्टे मार्न नसक्ने यो सरकारले बाँकी काम के पो गर्न सक्ला : प्रवक्ता शर्मा

बुलेटिन संवाददाता
२७ भाद्र २०७६, शुक्रबार १७:५१

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बिहीबार बाँकेमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित युवाहरुबाट भएको आक्रमणको घटनाको भर्त्सना गर्दै आपत्ति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको भर्त्सना गर्दै भविष्यमा यस्तो क्रियाकलाप नदोहोर्‍याउन पनि सरकारलाई चेतावनी दिए । जागरण अभियान कार्यक्रमलाई बिथोल्नका लागि सत्तारुढ दलका कार्यकर्ताबाट भएको आक्रमणको घटनालाई कांग्रेसले घटनाको रुपमा मात्रै नभई प्रवृत्तिको रुपमा विश्लेषण गरेको भन्दै शर्माले प्रतिपक्षी दलप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसले जागरण अभियानका क्रममा केन्द्रदेखि स्थानीय तहसम्ममा भ्रष्टाचारका घटनालाई केन्द्रीय भागमा राखेर उठाउँदै आएकाले नेकपाका कार्यकर्ताहरु तिलमिलाएर आक्रमणमा उत्रेको टिप्पणी प्रवक्ता शर्माले गरे । उनले प्रतिपक्षी दलप्रति सत्तापक्षका कार्यकर्ताबाट हुने दुर्व्यवहार तथा आक्रमणका घटनाले समग्र मुुलुकको राजनीतिप्रति नै नागरिकमा वितृष्णा फैलन सक्ने भन्दै घटनाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गरे ।

‘लामखुट्टे त मार्न सक्दैन यो सरकारले भने बाँकी कुरो के पो गर्न सक्ला ? त्यसकारण यो विषयमा सरकार गम्भीर बनोस्,’ प्रवक्ता शर्माले भने, ‘नेपाली कांग्रस पार्टीको कुनै पनि तह र तप्काका साथीहरुमाथि गर्ने दुर्व्यवहारहरु कांग्रेसमाथिको प्रहार मात्रै होइन । यसले समग्र राजनीतिमा वितृष्णा बढ्छ भन्ने कुरालाई सरकारले गम्भीरता पूर्वक सोचोस् ।’

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ को सीतापुरस्थित नेपाल रेडक्रसको सभाहलमा कांग्रेस राष्ट्रिय जागरण अभियानको दोश्रो चरणको कार्यक्रकम चलिरहेका बेला युवाहरुको समूह प्रवेश गरी आक्रमण गर्दा जिल्ला सभापति किरण कोइराला घाइते भएकी छन् । आक्रमणबाट उनको हात भाँच्चिएको र अन्य कार्यकर्ता पनि घाइते भएको कांग्रेसले जनाएको छ ।