भविश्यमा कहिल्यै नाकाबन्दीको पीडा ब्यहोर्न पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

बुलेटिन संवाददाता
२७ भाद्र २०७६, शुक्रबार १७:३२

२७ भदौ, बुटवल । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भविश्यमा कहिल्यै नाकाबन्दीको पीडा ब्यहोर्न नपर्ने दाबी गरेका छन । सरकारले परराष्ट्र नीति र बाह्य सम्बन्धमा गुणात्मक रुपमा विकास गरको भन्दै विगतमा भएकोजस्तो नाकाबन्दीको समस्या अब आउने पिँढीले भोग्नु नपर्ने समेत उनले दाबी गरे ।

बाह्य राष्ट्रहरुसँग आर्थिक साझेदारी राम्रो हुँदै गएको बताउँदै उनले परराष्ट्र सम्बन्धमा विगतमा भएका समस्याहरुलाई एकपछि अर्को गर्दै सुधार गर्दै लगिएको उल्लेख गरे ।

प्रेस संगठन नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले नेपालको छवि विश्वमा बढ्दै गएको बताए । चिनिया विदेशमन्त्रीको नेपाल भ्रमण पूर्ण रुपमा फलदायी रहेको बताउदै निकट भविष्यमा चिनियाँ प्रधानमन्त्रीले नेपालको भ्रमण गर्ने कुरामा हामी आशावादी रहेको उनले बताए ।

मन्त्री ज्ञवालीले नेपाल-भारतबीच रहेको सिमा विवाद समाधानका लागि विज्ञ टोलीहरुले अनुसन्धान गरिरहेको बताउँदै सबै विवाद तथा समस्याहरुको समाधान गरिने उनले बताए । नेपाल भारत खुला सिमानाको दुरुपयोग गरी अवाञ्छित तत्वहरुले गलत काम गरिरहेको बताउँदै उनले ती समस्याहरुलाई समाधान गर्नेतर्फ सरकार लागिरहेको बताए ।

मुलुकको विकासका लागि देशको हितलाई प्राथमिकतामा राखेर काम गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गर्दै मन्त्री ज्ञवालीले सन् २०३० सम्म नेपाललाई मध्यम आय भएको देश बनाउने सङ्कल्प जसरी पनि पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।