अत्यधिक रक्तश्रावका कारण बाजुरामा सुत्केरीको मृत्यु

बुलेटिन संवाददाता
२६ भाद्र २०७६, बिहीबार १८:१९

२६ भदौ, बाजुरा । जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण बुधबार बेलुकी सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका-१० पाण्डुसेनकी ३५ वर्षीया निर्मला बोहोरा रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए ।

बोहरालाई चिकित्सकले दिएको समयभन्दा दुई दिन पहिले नै ब्यथा लागेको थियो । बोहराले दुई वर्ष पहिले जिल्ला अस्पताल बाजुरामै शल्यक्रिया गरी शिशु जन्माएकी थिइन् ।

सुत्केरीको उपचारमा संलग्न डाक्टर दुर्गा महर्जनका अनुसार बोहराको शरीरबाट अत्यधिक रक्तश्राव भएकाले मृत्यु भएको हो । बोहोरालाई भ्याकुममार्फत सुत्केरी गराउँदासम्म उनको अवस्था सामान्य थियो । त्यसपछि एक्कासी बढी रक्तश्राव भएको डाक्टर महर्जनको भनाइ छ । रक्तश्रावपछि रगत दिन नपाउँदै बोहोराको मृत्यु भएको कार्यालय प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले बताए ।

जिल्ला अस्पताल बाजुरामा १८ दिन अघि भदौ ७ गते बडीमालिका नगरपालिका-७ जिल्लीकी बसन्ती नेपालीको मृत्यु भएको थियो । मृतकका आफन्तले भने मृत्युबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।