बुद्ध टेलिभिजनद्धारा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण

बुलेटिन संवाददाता
२६ भाद्र २०७६, बिहीबार १५:४७

२६ भदौ, रुपन्देही । शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनले बिहिबार गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ ।

रुपन्देहीको रोहणी गाउँपालिकाको धकधईमा रहेको राम नरेश यादब आदर्श माविका जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादबको उपस्थितीमा छात्रबृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै उनले टेलिभिजनले पत्रकारीतासँगै विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेर थप हौसला प्रदान गरेकोमा प्रंशसा ब्यक्त गरे ।

गाउँपालिकाका अन्य विद्यालयमा समेत टेलिभिजनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेर हौंसला प्रदान गर्नको लागि उनले आग्रह गरे ।टेलिभिजनले जनतामा सहि सुचना प्रदान गर्दै सामाजिक काममा समेत लाग्नु पर्नेमा जोड दिए ।

त्यस्तै बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष पृथ बहादुर फौंदार (पृथ्वी)ले टेलिभिजनले जनतामा सुचना, सामाचार, मनोरञ्जनसँगै प्रत्येक वर्ष सामाजिक काम गर्दै आएको बताए ।

विद्यार्थीको मनोबल उच्च राख्न र गरिब विद्यार्थीलाई केही भएपनि राहात होस भन्ने उदेश्यले छात्रबृत्ति प्रदान कार्यक्रम सञ्चालन गरिएको उनले बताए । आगामी दिनमा समेत टेलिभिजनले थप सामाजिक काम गर्दै अगाडी बढ्ने फौंदारले बताए । राम नरेश यादब आदर्श विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राज कुमार यादबले टेलिभिजनले आफ्नो विद्यालयका विद्यार्थीलाई छात्रबृत्तिमा छनोट गरेको धन्यबाद ब्यक्त गरे ।

टेलिभिजनले १२ औं वार्षिकोत्सवको उपलक्ष्यमा ३ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको टेलिभिजनका कार्यकारी अधिकृत विष्णु प्रुसाद भुषालले जानकारी दिए ।
विद्यार्थी पुनम कुमारी कुर्मी , बिजय कुमार यादब र नागेश्वर प्रसाद कोहारलाई जनही ५-५ हजार र सम्मानपत्र सहित छात्रबृत्ति प्रदान गरिएको उनले जानकारी दिए ।

टेलिभिजनले प्रत्येक वर्ष वार्षिकोत्सवको उपलक्षयमा जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ । विद्यालयका प्रधानध्यापक रामजीत प्रसाद चौधरीको स्वागत तथा बुद्ध सामुदायिक टेलिभिजनका कार्यक्रम प्रमुख खेमराज रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा टेलिभिजनका कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी , विद्यालयका सह प्रधानध्यापक बैकुष्ठनाथ अर्याल , टेलिभिजनका एमसिआर प्रमुख नरेश अधिकारी , समाचारशाखाबाट ललित पाण्डेयको उपस्थिती रहेको थियो ।

यस्तै टेलिभिजनको ११ साधारण सभा तथा चौथो अधिबेशन शुक्रबार हुँदै छ । अधिबेशनले टेलिभिजनको नँया नेतृत्व समेत चयन गर्दै छ ।