रौतहटको कुडियाबजार तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

बुलेटिन संवाददाता
२६ भाद्र २०७६, बिहीबार १५:२९

२६ भदौ, रौतहट । स्थानीयको दुई पक्षबीच झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको छ । रौतहटको राजपुर-६ कुडियाबजार क्षेत्रमा स्थानीयको झडप नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन दिउँसो १ बजे ३० राउण्ड हवाइफायर र २८ सेल भन्दाबढी अश्रुग्यास हानेको प्रहरीले बताएको छ ।

कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिएको हो । झडपका क्रममा प्रहरीको गाडीमा पनि ढुंगामुढा भएको छ । त्यस क्षेत्रमा डीएसपी नवीन कार्कीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बुधबार साँझ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि विवाद सुरु भएको थियो । श्री सप्ताह मुर्ति तोडफोड भएको र त्यस ठाउँमा मुसलमान समुदायको झण्डा देखिएपछि विवाद सुरु भएको हो ।

यसै विषयमा बुधबार राति पनि झडप हुँदा प्रहरीले हवाई फायर र अश्रुग्यास हानेको थियो । विवाद समाधान गर्नका लागि स्थानीय प्रहरी प्रशासनले बिहीबार विहान मुस्लिम अगुवाहरु सँग छलफल गरेको थियो ।

मुस्लिम अगुवासँगको छलफलपछि प्रहरीले पोखरी किनारमा राखेको झण्डा हटाएको थियो । सोही झण्डा हटाएको विरोधमा बिहीबार दिउँसो प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास हानेको प्रहरीले बताएको छ ।