सांसदले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

बुलेटिन संवाददाता
२६ भाद्र २०७६, बिहीबार १५:११

२६ भदौ, काठमाडौ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन् । बिहीबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गौतमले मुलुक डेंगुले आतंकित र आक्रान्त भएकाले संकटकाल घोषणा गर्न समेत माग गरे ।

रुलिङ गरेर झारा टार्ने र कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानलाई चरितार्थ गरेर मात्र पुग्दैनु, उनले भने, त्यसैले म जोडदार रुपले स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु । सरकार यसरी मुकदर्शक बनेर बस्न मिल्दैन । संकटकालको घोषणा गरेर अघि बढ्नुपर्छ ।

डेंगु नियन्त्रणमा सरकार कुम्भकर्णको निद्रामा सुतेको उनले आरोप लगाए । यत्रो ठूलो विरोध र आक्रोश देख्दा पनि खालि रुलिङ गरेर मात्र पुग्दैन । स्वास्थ्यको जिम्मा लिएर बस्नुभएका मन्त्रीजी कहाँ हुनुहुन्छ ? अब त प्रधानमन्त्री पनि स्वदेशमा आइसक्नुभयो ।

यतिबेला चुप लागेर बसेर, रुलिङ गरेर, टेबुल ठोकेर र सत्तापक्षका साथीहरुले विरोध जनाएर मात्रै पुग्दैन । दुई तिहाइको सरकार हो यो । यतिबेला गर्न नसकेको, सुशासन दिन नसकेको कसले दिनसक्छ ?, उनले प्रश्न गरे ।