कैलालीमा अज्ञात समूहद्धारा वडा कार्यालयमा तोडफोड, अध्यक्षमाथि हातपात

बुलेटिन संवाददाता
२६ भाद्र २०७६, बिहीबार १४:०८

२६ भदौ, धनगढी । कैलालीमा अज्ञात समूहले वडा कार्यालयमा तोडफोड गरेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ को कार्यालयमा तोडफोड गरिएको हो । दुई मोटरसाईकलमा आएका ६ जनाको समूहले वडा कार्यालयमा तोडफोड गरेका हुन् ।

वडा अध्यक्ष जनकबहादुर साउँदले पुरानो चौमाला बजारमा रहेको वडा कार्यालयको कम्प्यूटर, प्रिन्टर, टेवुल लगायतमा क्षति भएको जानकारी दिए ।

उनले आफुमाथि पनि हातपातको प्रयास भएको र प्रतिकार गर्न खोज्दा भागेको बताए । उनीहरु सबै मास्क लगाएर आएका थिए ।

खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।