मनपरी भाडा लिँदा यात्रुहरु मर्कामा

बुलेटिन संवाददाता
२६ भाद्र २०७६, बिहीबार १३:३५

२६ भदौ, सिञ्जा । पातारासी गाउँपालिकाको लासीदेखि विमानस्थलसम्म सञ्चालन हुने साना सवारी साधनहरुले मनपरी भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् । लासीदेखि बजारसम्म पहिले १०० मा यात्रु ओसार्ने सवारीले हिजोआज २०० भाडा लिने गरेको स्थानीय उषा बुढाले बताए ।

अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रुहरु आवतजावत गर्न बाध्य भएको उनको भनाइ छ । ‘एक त बाटो अप्ठ्यारो छ,’ उनले भने, त्यसैमाथि गाडीको क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन हुने गरेको छ । उर्थुस्थित प्रहरी चौकी नजिक आएपछि यात्रु झार्ने गरिन्छ । कोटाभिड नजिक पुगेपछि पुनः ती यात्रुहरु राखेर बजार ल्याउने गरिएको छ ।’

यात्रुको ढाड सेकिने गरी भाडा असुल गरिएको प्रति उनले आक्रोश व्यक्त गरे । लासीबाट बजारसम्म र बजारदेखि लासीसम्म जाने साना सवारी साधनले पछाडिको ढाला र छतभरि मान्छे बोकेर सञ्चालन गरिरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ती सडकमा चल्ने सवारी साधनको निगरानी नगर्दा सवारी सञ्चालकहरुले मनपरी भाडा असुल्ने गरेका हुन् । यात्रुहरुका अनुसार पाँच जना चढ्न मिल्ने सिट क्षमताका गाडीमा झण्डै २५ जनासम्म कोचेर मनपरी भाडा लिने गरेका छन् ।