राजधानीलाई हरियाली बनाउन त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म वृक्षारोपण गरिने

बुलेटिन संवाददाता
२६ भाद्र २०७६, बिहीबार १३:१२

२६ भदौ, काठमाडौँ । राजधानीलाई हरियाली बनाउन त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म करिब पाँच सय वृक्षारोपण गरिने भएको छ । महानगरले आज विहान १ सय ६५ वटा विरुवा रोपिएको छ ।

यो अभियानमा सडक खण्डका दुवै किनारामा १५ मिटर दुरीमा वृक्षारोपण गरिने छ । यसरी रोपेका विरुवालाई हुर्काउने र व्यवस्थापन गर्ने सबै महानगरले नेपाली सेनालाई जिम्मा दिएको छ । वृक्षारोपण अभियानको शुभारम्भ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार विहान सुन्धाराबाट गरेका छन ।

मेयर शाक्यले हरित शहर बनाउने काठमाडौँ महानगरपालिकाको अभियान अनुसार नै हामीले वृक्षारोपण कार्यक्रम आयोजना गरेको बताए । उनले सार्वजनिक जग्गामा हरियाली पार्क निर्माण गर्ने लगायतका काम तीव्ररुपमा अघि बढाएको समेत जानकारी दिए । मेयर शाक्यले यस्तो अभियान ३२ ओटै वडामा केन्द्रित रहेको भन्दै महानगरपालिकाले सार्वजनिक विद्यालयलगायतका स्थानमा पनि वृक्षरोपण गर्ने बताए ।

वृक्षारोपणको अग्रसरता लिएको काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले नेपाली सेना र काठमाडौं महानगरपालिकाका बीचमा सहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका ३ क्षेत्रमा साझेदारीमा आधारित कार्यक्रम सञ्चालनको सम्भावना देखिएको बताए । ‘यीमध्ये महानगरको केन्द्रीय कार्यालय र नेपाली सेनाको मुख्यालय अगाडि वृक्षारोपण गरिएको बताए । उनले स्वास्थ्य उपचार र शिक्षाको गुणस्तर सुधारका लागि कार्यक्रम छनौट अन्तिम चरणमा पुगेको छ । केही समयको अन्तरालमा नै सार्वजनिक हुने समेत बताए ।

त्यसैगरी दुवै निकायको मुख्य प्रवेशद्वारबाट त्रिपुरेश्वरतर्फ नेपाली सेनाको मुख्यालयतर्फको स्थानको सरसफाइ र सौन्दर्यकरण गर्ने, यात्रुलाई बस्ने मेचको व्यवस्था गर्ने योजना छ । यसको व्यवस्थापन नेपाली सेनाले गर्नेछ । महानगरले ५ फिटभन्दा माथिका विरुवामात्रै रोप्ने नीति लिएको छ ।