नेकपा सचिवालय बैठक आधा घण्टामै सकियो

बुलेटिन संवाददाता
२५ भाद्र २०७६, बुधबार १८:४८

२५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधवार झण्डै आधा घन्टा मात्र बस्यो । बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिने एक मात्र निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको अध्यक्षता प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । अध्यक्ष ओलीको स्वास्थ्यका कारणले गर्दा पार्टी एकताका बाँकी कामको टुंगो लगाउने विषयमा बुधबारको बैठकमा छलफल नभएको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए ।

प्रधानमन्त्रीको बुधबार नै त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सिंगापुरमा उपचारका क्रममा राखिएको क्याथेटर निकालिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो नभएकाले नेकपा सचिवालय बैठकले पार्टी एकताको बाँकी कामका विषयमा समेत छलफल गरेन ।

प्रदेश २ मा देखिएको विवादको विषयमा समस्या समाधान गर्नुपर्ने वरिष्ठ नेता खनालको प्रस्तावपछि अर्का नेता माधवकुमार नेपालले वास्तविकता बैठकमा राखेका थिए । तर‚ अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को बैठकमा बाँकी एजेण्डामा छलफल गरौंला भनेपछि बैठक अनौपचारिक छलफलमा मात्र केन्द्रित भएको स्रोतले जनाएको छ ।

नेकपामा आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका विभिन्न निकायको एकता टुंगो लाग्न बाँकी छ । केन्द्रीय विभागहरुको प्रमुख-उपप्रमुख तोके पनि विभागले पनि पूर्णता पाउन सकेका छैनन् ।

पार्टी एकताका बाँकी काम टुंगो लगाउन र गठन भएका विभिन्न विभागको पूर्णताका विषयमा दुई अध्यक्षले गृहकार्य गरेपछि सचिवालय बैठक बस्ने तयारी छ ।