सभाखोला थुनिएपछि बाह्रबिसे बजार नै जोखिममा

बुलेटिन संवाददाता
२५ भाद्र २०७६, बुधबार १७:१६

२५ भदौ, संखुवासभा । अविरल वर्षाका कारण संखुवासभाको सभापोखरी गाउँपालिका–४, फाक्सीबुङमा पहिरो झरेर सभाखोला थुनिएपछि बस्ती नै जोखिममा परेको छ ।

बुधबार दिउँसो साढे २ बजेतिर पहिरो खसेपछि सभाखोला थुनिएको हो । सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारभन्दा ३ किलोमिटर उत्तरमा रहेको फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएर तीन सय मिटरभन्दा ठूलो ताल जमेको सभापोखरी–६ नम्बरका वडाध्यक्ष बिकास पौडेलले बताए ।

पहिरोले फाक्सीबुङमा रहेको गोठहरु समेत बगाएको छ । त्यहाँ मानवीय बस्ती नभएकाले अहिलेसम्म मानवीय क्षति भने नभएको वडाध्यक्ष पौडेलको भनाइ छ ।

खोला नै थुनिएर ताल जमेपछि ताल फुटेमा तलतिर रहेको गाउँपालिकाको केन्द्र समेत रहेको बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ । बाह्रबिसे बजारमा झण्डै सय घर रहेका छन् । माथिबाट जमेको ताल फुट्यो भने बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट एकदिन टाढा पूर्वमा पर्दछ । तीन दिनदेखि अविरल वर्षा भइरहेकाले यस क्षेत्रमा पहिरो झरिरहेको छ । अविरल वर्षाका कारणले सञ्चार सम्पर्क गर्न समेत मुस्किल रहेको छ ।