फोनिज युके पत्रकारिता सम्मान शान्ति गुरुङलाई

बुलेटिन संवाददाता
२५ भाद्र २०७६, बुधबार १६:५७

२५ भदौ, काठमाडौ । यस वर्षको फोनिज युके पत्रकारिता सम्मानका शान्ति गुरुङ छनोट भएकी छिन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेकी अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षतामा सेप्टेम्बर ३ मा फार्नबरोमा बसेको बैठकले रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा कार्यरत पत्रकार गुरुङलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

फोनिज युकेले रेडियो बिजिडब्लुएसका निर्देशक सोनाम छिरिङ शेर्पाको संयोजकत्वमा गठन गरेको पत्रकारिता सम्मान छनोट समितिले फोनिज नेपालले सिफारिस गरेका पाँच पत्रकारमध्ये गुरुङलाई चयन गरेको अध्यक्ष राईले बताइन् । सम्मानको राशि ३० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।

रुपन्देहीको बुटवल नगरपालिका–१३ की गुरुङ २०५४ सालमा गुरुङ भाषाको समाचार वाचिकाको रुपमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा काम सुरु गरेकी हुन् । उनी अहिले समाचार सम्पादक पदमा कार्यरत छिन् । उनले मातृभाषामा समाचार वाचन, कार्यक्रम सञ्चालन, आदिवासी जनजातिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दैआएकी छन् । यसैगरी ब्रिटिश फोर्स ब्रोडकास्टिङ सर्भिस (बिएफबिएस)को संवाददाताको रुपमा समेत कार्यरत छिन् ।

उनी नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ कार्यसमितिको उपाध्यक्ष, प्रेस चौतारी केन्द्रीय कार्यसमितिको उपाध्यक्ष, तमु (गुरुङ) पत्रकार संघ कास्की जिल्ला कार्यसमितिको अध्यक्षसमेत हुन् । फोनिज युकेले यसअघि सन् २०१६ को ‘फोनिज युके पत्रकारिता सम्मान’ पत्रकार गोपाल छाङ्छा राई र ‘फोनिज युके पत्रकारिता पुरस्कार’ रामविकास चौधरीलाई प्रदान गरिएको थियो । त्यसैगरी सन् २०१७ को ‘फोनिज युके पत्रकारिता सम्मान’ पत्रकार गणेशमान गुरुङ र ‘फोनिज युके पत्रकारिता पुरस्कार’ मिलन लिम्बुलाई प्रदान गरेका थियो ।

यसरी नै ‘फोनिज युके पत्रकारिता सम्मान–२०१८’ पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको थियो । यस वर्षको सम्मान आगामी असोज अन्तिम साता काठमाडौंमा प्रदान गरिनेछ ।