बनेपामा डेङ्गुसम्बन्धी सचेतना कार्यक्रम शुरू

बुलेटिन संवाददाता
२५ भाद्र २०७६, बुधबार १३:२१

२५ भदौ, बनेपा । पनौती नगरपालिका स्वास्थ्य शाखाले मंगलवार पनौतीको बजार क्षेत्रलगायत विभिन्न ठाउँमा सचेतना कार्यक्रम गरी आम नागरिकलाई डेङ्गु रोगबाट बच्ने उपायसहितका सचेतना कार्यक्रम गरेको छ ।

शुक्रराज ट्रपिकल सेन्टर (टेकु अस्पताल) काठमाडौंबाट जनस्वास्थ्य कार्यालयमा प्राप्त विवरणको आधारमा पनौती नगरपालिका-१२ मा एक जना सङ्क्रमित भएको देखिएपछि सचेतनाको लागि सो अभियान शुरू गरेको पनौती नगरपालिका प्रमुख भीमप्रसाद न्यौपानेले बताए । ‘मंगलवारबाट शुरू गरिएको अभियान नगरको सबै वडामा विभिन्न कार्यक्रम गरी नागरिकलाई डेङ्गु सर्नबाट बच्ने उपायसहितको सर्तकता रहन सन्देश प्रवाह गर्दैछौं,’ प्रमुख न्यौपानेले भने ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले नागरिकलाई सचेत रहनको लागि आजबाट डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने काम शुरू गरेको बताए । ‘पहिलो दिन मंगलवार गरेको अभियानमा मानेश्वरी बसपार्क क्षेत्र, बजार क्षेत्र र दूध मिलसम्म र्‍याली गरी सचेनताका साथै लामखुट्टे बस्ने स्थान खोज्ने र लार्भा नष्ट गर्ने काम गर्‍यौं,’ उनले भने, ‘आज नगरको प्रायः सबैजसो वडामा सोही अभियानलाई निरन्तरता दिँदैछौं ।’

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जिल्लाको १३ वटा नै स्थानीय तहमा डेङ्गु रोगसम्बन्धी सचेतना अभियान सञ्चालन गर्न पत्राचार गरिसकेको बताए ।

‘शुक्रराज ट्रपिकल सेन्टर (टेकु अस्पताल) काठमाडौंबाट जनस्वास्थ्य कार्यालयमा प्राप्त विवरणको आधारमा पनौती नगरपालिका-१२ र चौरीदेउराली गाउँपालिका-५ मा एक-एक जना सङ्क्रमित भएको विवरण पठाएपछि त्यसैको आधारमा जिल्लाका सबै स्थानीय तहमा सचेतना अभियान सञ्चालन शुरू गरेका हौं, ।’ झाले भने, ‘मंगलवार पनौती नगरपालिकामा गर्‍यौं, आज धुलिखेल र पाँचखाल नगरपालिका र त्यस्तै अन्य नगर-गाउँपालिकामा पनि क्रमशः सञ्चालन गर्ने छौं ।’