भ्रष्टाचार हुने जिल्लाको सूचीमा तनहुँ तेस्रो स्थानमा

बुलेटिन संवाददाता
२५ भाद्र २०७६, बुधबार १२:३८

२५ भदौ, तनहुँ । गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचार हुने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो ।

जिल्लाबाट गत आर्थिक वर्षमा ६९ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परेका आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा पनि १२ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परिसकेको छ ।

भ्रष्टाचारका उजुरीमध्ये ४२ उजुरी फछ्र्यौट भइसकेका छन् भने सात उजुरीमा भ्रष्टाचारजन्य कार्य भएको प्रमाण भेटिएकाले थप अनुसन्धान भइरहेको रिजालले बताए ।

जिल्लामा भ्रष्टाचारजन्य सात उजुरीमध्ये चार स्थानीय तहमा, दुई भौतिक पूर्वाधारतर्फ र एक शिक्षातर्फ रहेका छन् । स्थानीय तहले नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरो-तेहोरो भुक्तानी र बिनाकाम भुक्तानी गर्ने, घर नक्सा तथा बाटो, अन्य सिफारिशमा अनियमितता गरेको, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको, जथाभावी भत्ता सुविधा लिने गरेको उजुरी कार्यालयमा परेका छन् ।

सूचना अधिकारी रिजालका अनुसार उपभोक्ता समिति गठन प्रक्रियामा आफू अनुकूल व्यक्ति छनोट गरेको, सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको, राजश्व छली तथा नियमित बैंक दाखिला नगर्ने तथा योजना स्वार्थ प्रेरित तरिकाले फेर्ने गरेको उजुरी आयोगमा परेको छ ।