बिपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ : कांग्रेस नेता पौडेल

बुलेटिन संवाददाता
२५ भाद्र २०७६, बुधबार ११:३८

२५ भदौ, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताएका छन् । राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेस तनहुँले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए ।

‘बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर कांग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,’ पौडेलले भने, ‘बिपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ ।’ उनले बिपी जनताको शासनका पक्षमा रहे पनि कम्युनिस्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाए ।

बिपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको पौडेलको भनाइ थियो । निमुखालाई न्याय र विपन्नलाई आय कांग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उनले गाउँ-गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा पौडेलले बिपी कोइरालाले विसं २०३६ असोज ६ गते व्यास नगरपालिका-३ बिपी वनवाटिकामा उपस्थित भएर राखेको भनाइ अंकित बोर्डको अनावरण गरेका थिए ।

तनहुँ आएर पहिलोपटक राखेको उद्गारलाई चीरस्थायी बनाउन होर्डिङ बोर्ड राखिएको कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए । राष्ट्रिय जागरण अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँमा सभा, सम्मेलन आयोजना गरिएको पार्टीले जनाएको छ ।