पुष्करका एकजोर कृतिमाथि परिचर्चा

बुलेटिन संवाददाता
२४ भाद्र २०७६, मंगलवार १९:१३

भोजराज भट्टराई,
पाल्पा २४, भाद्र ।
पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीका युगल काव्यकृति ‘अक्षर’ र ‘अक्षता’ मा थि तानसनेमा परिचर्चा गरिएको छ । गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौंले हालै प्रकाशनमा ल्याएको रेग्मीका एघारौं कृति ‘अलग बाटो’ सचित्र बाल लघुकथासंग्रह र बाह्रौ कृति ‘अक्षता’ बालगेडी संग्रहको समाजको रजत महोत्सव सन्दर्भ पारेर परिचर्चा गरिएको हो ।

रेग्मीको कृति ‘अलग बाटो’ को समीक्षा मन्तव्य राख्दै बगनासकाली साहित्य परिषद्का सल्लाहकार एवम् साहित्यकार टंक भट्टराईले बाल लघुकथा कृति बाल साहित्यको कथा विधामा राष्ट्रिय पहिचान बनाउन सफल भएको औंल्याए । उनले प्रतिकात्मक रूपमा कृत्रिमताको विरोध, लैंगिक विचलन र वर्णविन्यासमा देखिएका त्रुटी बाहेक कृति संग्रहणीय र पठनीय रहेको बताए ।

सचित्र बालगेडी संग्रह ‘अक्षता’ माथि परिचर्चा गर्दै साहित्यकार टंक पन्थले बालगेडी संग्रहमा एकता, वीरता, स्वाधिनता, सद्भाव र सहिष्णुताको भाव समेटिएको जनाए । उनले पुष्करको बहुआयामिक परिकल्पना र लेखनशैली अनुकरणीय रहेको औंल्याए । पन्थले केही विषयवस्तुको पुनरावृत्ती बाहेक कृतिले बालसाहित्यप्रमीहरूको लागि महत्त्वपूर्ण खुराक हुने जनाए ।

परिचर्चा कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्ति साहित्यकार नैना ढकाल, पोखराथोक साहित्य संगमका अध्यक्ष हरि भट्टराई, नारी उन्नयन प्रतिष्ठान पाल्पा अध्यक्ष लक्षीमा ज्ञवाली, श्रीनगर एफ.एम.का अध्यक्ष भीमसेन कार्की, भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदय लगायतले शुभकामना मन्तव्यसहित अथकका कृतिले नयाँ पुस्तालाई लेखन क्षेत्रमा उर्जा र प्रेरणा थप्ने जनाए ।

कार्यक्रम समाजका अध्यक्ष राजेन्द्रगोपाल सिंहको अध्यक्षता, कोषाध्यक्ष पुरुषोत्तम अर्यालको स्वागतमा सचिव महेन्द्र पन्थीको सञ्चालनमा चलेको थियो । सोही समारोहमा समाजको रजत महोत्सव लोगो सार्वजनिक गरिएको थियो । कृतिका लेखक पुष्कर अथक रेग्मीले आफ्नो कृति प्रकाशनको क्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै सोही कार्यक्रममा पाल्पाली आदिकवि छविलाल नेपालको स्मृति अक्षयकोषको शुभारम्भ गरे । उनले पाल्पाली आदिकवी छविलाल नेपालको अक्षयकोषलाई एक लाख पु¥याई साहित्यिक क्षेत्रमा योगदा गर्नेहरूलाई प्रत्येक वर्ष सम्मान पुरस्कार प्रदान गरिने जनाए । यस्तै रेग्मीकी सुपुत्री एलिसा रेग्मीले आफ्ना माता पीताको सम्मानमा वार्षिक पुरस्कार कोषको स्थापना गर्ने प्रतिवद्धता जनाइन । भगवती मन्दिर भजन कक्षमा भएको समारोहमा जिल्लास्थित विभिन्न साहित्यिक संघ संस्थाका प्रतिनिधि र अन्य साहित्यप्रेमी तीन दर्जन बढीको सहभागिता रहेको थियो ।