महिला हिंसा नियन्त्रणका लागि सरकार गम्भीरताका साथ लागि परेको छ : मन्त्री थापा

बुलेटिन संवाददाता
२४ भाद्र २०७६, मंगलवार १८:४९

२४ भदौ, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसा नियन्त्रणका लागि सरकार गम्भीरताका साथ लागिपरेको दावी गरेकी छन् ।

मन्त्री थापाले महिला हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सरोकारवाला निकायलाई पनि आह्वान गरिन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले महिला हिंसालाई नियन्त्रण गर्दै लैजान सरकारले चालु आर्थिक वर्षलाई महिला हिंसाविरुद्धको अभियान वर्ष घोषणा गरेको जानकारी दिइन् ।

मन्त्री थापाले महिला हिंसा न्युनीकरणका लागि सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई सबै जिल्लामा सञ्चालन गरिरहेको पनि बताइन् । मन्त्री थापाले महिलामाथि हिंसा हुन नदिन उनीहरुलाई आर्थिक–सामाजिक सशक्तीकरणको कार्यक्रमलाई पनि अघि बढाइएको बताइन् ।