काबुलमा मारिएकाको शव नेपाल ल्याई अन्त्येष्टि

बुलेटिन संवाददाता
२४ भाद्र २०७६, मंगलवार १८:४३

२४ भदौ, चितवन । अफगानिस्तानको काबुलमा नौ दिनअघि बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको आज अन्त्येष्टि गरिएको छ । थापा र रोल्पाका चन्द्र पुनको शव आज बिहान काठमाडौँ ल्याइएपछि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकोप्टरबाट थापाको शव चितवन ल्याइएको परिवारले जनाएको छ । अर्को हेलिकोप्टरले पुनको शवलाई रोल्पा लगिएको जनाइएको छ ।

थापाको बहिनी सावित्री अधिकारीका अनुसार चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा शव नेपाल झिकाइएको हो । गत साता अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका-२१ का थापा र रोल्पाका पुनले ज्यान गुमाएका थिए । थापाका बाबु आमा, श्रीमती र दुई छोरा रहेका छन् ।