अवतरण गर्न लागेको विमान बेस्सरी हल्लिएपछि : १३ घाइते, एक जना जीवनमरणको स्थितिमा

बुलेटिन संवाददाता
२४ भाद्र २०७६, मंगलवार १६:४७

२४ भदौ, एजेन्सी । जर्मनीको राजधानी बर्लिनमा रहेको टेगेल विमानस्थलमा सोमवार अवतरण हुन लागेको एक विमान बेस्सरी हल्लिएपछि १३ जना घाइते भएका छन् भने एक महिला जीवनमरणको स्थितिमा पुगेकी छन् ।

युरोविंग्स एयरबस ए३१९ टेगेल विमानस्थलमाथि हुँदा बेस्सरी हल्लिएको थियो । घाइते भएका १३ मध्ये आठजनालाई थप उपचारका लागि अस्पताल लगिएको थियो । चोट लाग्नेहरूलाई टाउकोमा घाउ, औंलामा फ्र्याक्चर र अन्य भागमा गहिरो घाउ लागेको छ ।

इटलीको लामेजिया टर्मेबाट आइरहेको विमान अवतरण हुनै लाग्दा विमानका क्याप्टेनले ९ हजार मिटरको एल्टीट्युडमा टर्बुलेन्स देखे । त्यसपछि उनले प्रिकसनका लागि सीट बेल्टको संकेत अन गरे । अनि क्याप्टेनले जर्मन र अंग्रेजी दुवै भाषामा यात्रुहरूलाई आँधीको जस्तो परिस्थिति बनेको चेतावनी दिँदै सीटमा बस्न र बेल्ट बाँध्न भने ।

तर यात्रुहरूले उनलाई बेवास्ता गरे अनि सीटबेल्ट खुलै राखेको एभिएसन२४ डट्डेले लेख्यो । ‘घोषणा हुँदै गर्दा साँच्चिकै टर्बुलेन्स थियो र त्यतिखेर केही यात्रुहरूले सीटबेल्ट बाँधेका थिएनन् अनि उनीहरू नै घाइते भए,’ युरोविंग्स प्रवक्ताले बताइन् । विमान अवतरण गरिएपछि आपतकालीन सेवाहरू विमानतर्फ दौडिए ।

निकै गम्भीर चोटपटक लागेकी महिला जीवनमरणको स्थितिमा रहेको बताइएको छ । अन्य यात्रुहरूलाई टर्मिनलतर्फ लगिएको थियो ।