एसिड आक्रमणबाट पीडित मुस्कानको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्य मन्त्री यादव

बुलेटिन संवाददाता
२४ भाद्र २०७६, मंगलवार १६:०९

२४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले एसिड आक्रमणबाट घाइते भई उपचारत मुस्कान खातुनको उपचारमा कमी हुन नदिने जानकारी दिएका छन् ।

वीरगञ्जस्थित हनुमान माध्यामिक विद्यालयमा अध्ययन गर्न जाँदै गर्दा गत शुक्रबार बिहान खातुनमाथि एसिड प्रहार भएको थियो । उनको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइराखेको छ । चिकित्सकका अनुसार हाल उनको अवस्था खतरामुक्त रहेको छ ।

राज्यमन्त्री डा यादव म‌ंगलवार अस्पतालमा पुगी खातुनको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिएका थिए । उनले उपचारमा सङ्घीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने जानकारी पनि दिए।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले खातुनको उपचारमा रु ५० हजार र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले रु पाँच लाख दिने निर्णय गरिसकेका छन् ।

पर्सा जिल्ला प्रहरीले छात्रा खातुनमाथि एसिड प्रहार गर्ने तीन युवकलाई पक्राउ गरिसकेको छ ।