नेकपा प्रदेश २ को सपथग्रहण कार्यक्रममा विवाद, प्रहरीद्वारा हस्तक्षेप

बुलेटिन संवाददाता
२४ भाद्र २०७६, मंगलवार १४:४४

२४ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ को सपथग्रहण कार्यक्रममा विवाद भएको छ । सप्तरी र सिराहा जिल्ला कमिटीको पदाधिकारी र सदस्यको पपथग्रहण समारोहमा असन्तुष्ट पक्षको विरोधपश्चात स्थिति तनावग्रस्त भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदेशअन्तर्गतका सप्तरी र सिराहा जिल्ला कमिटीको सपथग्रहण कार्यक्रम बर्दिवासमा राखिएको थियो । तर, जिल्ला कमिटी गठनमा असन्तुष्ट रहेको पक्षले सपथ ग्रहण रोक्न प्रदेश कमिटी अध्यक्ष र सचिवलाई आग्रह गरेको थियो । तर, कार्यक्रम नरोकिने निश्चित भएपछि विवाद भएको थियो ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरी नेताहरुलाई सुरक्षा दिएको थियो । अहिले नेताहरुलाई प्रहरीले सुरक्षा दिइरहको छ ।

झडप हुन थालेपछि प्रहरीको लाठीचार्जबाट नेकपाका प्रदेश सदस्य देवनाथ यादव घाइते भएका छन् । जिल्ला कमिटी गठन गर्दा कसैलाई काखा र कसैलाई पाखा गरिएको भन्दै सिराहा र सप्तरी जिल्लाका नेकपाका कार्यकर्ताहरु असन्तुष्ट रहँदै आएका छन् ।