घिनाघाटदेखि विराटचोकसम्म २२ किलोमिटर सडक ४ लेनमा स्तरोन्नति गरिने

बुलेटिन संवाददाता
२३ भाद्र २०७६, सोमबार १७:१९

२३ भदौ, विराटनगर । संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि विराटनगरको घिनाघाटदेखि विराटचोकको करीब २२ किलोमिटर सडक-खण्ड ४ लेनमा स्तरोन्नति गरिने भएको छ । प्रदेश नं. १ सरकारको सहयोगमा सो सडक ६६ फिट चौडाईको बनाउन लागिएको हो ।

तीन वटा प्याकेजमा निर्माण हुने सो सडकको २० किलोमिटर खण्ड करीब १ अर्ब ३७ करोड रुपैयामा निर्माण थालिएको हो । मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमकाबीच सो सडक निर्माणको शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघीयता कार्यान्वयनसँगै विकास निर्माणको कार्यले पनि गति लिन थालेको बताए । उनले प्रदेश सरकार अन्तर्गत नआएको भए यो सडक खण्डको स्तरोन्नति कहिले हुने थियो, अनुमान मात्र लगाउन सकिन्छ भन्दै घिनाघाट विराटचोक सडकलाई नमूना सडक बनाउने र यसमा बन्द हडताल निषेधित गरिने जानकारी दिए ।

अत्यन्त ट्राफिक चाप हुने घिनाघाट विराटचोक सडक निर्माणपछि यस क्षेत्रका स्थानीयहरुलाई आवतजावतमा सहयोग पुग्नेछ ।