विश्व कीर्तिमान आरोही कामी रिता शेर्पालाई प्रदेश एक सरकारले सम्मान गर्ने

बुलेटिन संवाददाता
२३ भाद्र २०७६, सोमबार १६:५३

२३ भदौ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गरेका आरोही कामी रिता शेर्पालाई प्रदेश एक सरकारले सम्मान गर्ने भएको छ ।

सोलुखुम्बु जिल्लाको थामेमा जन्मिएका आरोही शेर्पालाई संविधान दिवसको दिन असोज ३ गते सम्मान गरिने प्रदेश सरकारले जनाएको छ ।

पर्वतारोहणको माध्यमबाट राष्ट्रलाई पुर्याएको योगदानको कदर गर्दै नगद पाँच लाख रुपैयाँसहित सम्मान गरिने नेकपा प्रदेश १का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

शेर्पाले गत जेठ ७ गते २४ औँ पटक सगरमाथाको आरोहण गरेर आफ्नै नामको रेकर्ड तोडेका थिए । उनी ०५१ सालदेखि हिमाल आरोहणको क्षेत्रमा क्रियासिल छन् ।