अस्पतालमा ज्वरोका बिरामीको चाप थामीनसक्नु

बुलेटिन संवाददाता
२३ भाद्र २०७६, सोमबार १३:४४

२३ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । अस्पतालमा आइतबार एक हजार ९२२ बिरामी आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा भएको पौडेलले जानकारी दिए ।

अस्पतालका मेडिकल विभाग प्रमुख डा. प्रकाश खतिवडाका अनुसार विभागमा पाँचजना मात्र विशेषज्ञ चिकित्सक छन् ।

नयाँ ९०० र पुराना ३०० भन्दा बढी बिरामी अस्पताल आएपछि चिकित्सकले सबै बिरामी हेर्न नसकेको उनले जानकारी दिए । बाँकी रहेका करीब १०० लाई सोमबार पहिलो प्राथमिकतामा राखेर परीक्षण गरिएको उनले बताए । अहिलेको चिकित्सकको संख्याले यो चाप थेग्न नसक्ने खतिवडाको भनाइ छ ।

सामान्य समयमा ४५० हाराहारी नयाँ र १५० पुराना हेर्दै आएकामा एकाएक दोब्बरभन्दा बढी बिरामी थपिएको तर चिकित्सक उही भएपछि अस्पतालमा धान्न मुस्किल परेको खतिवडाको भनाइ छ । चाप निकै बढेका कारण अस्पतालभित्र ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।

खतिवडाका अनुसार अस्पतालभित्रका अन्तरङ्ग सेवाका मेडिकल वार्ड र क्याबिनहरु पनि ज्वरोका बिरामीले भरिएका छन् । करीब १२० ज्वरोका बिरामी अस्पतालमा भर्ना भएको बताइएको छ ।

जिल्लाका दुई मेडिकल कलेज र २० निजी अस्पताल पनि ज्वरोका बिरामीले भरिएका छन् । स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउन यता आइतबार साँझसम्म तीन हजार ४०० जनाको डेङ्गु परीक्षण गरिएकामा एक हजार २०६ जनामा संक्रमण देखिएको छ । डेङ्गुकै कारण दुईजनाको मृत्यु भइसकेको छ ।