अज्ञात समूहद्धारा झापाका दुई स्थानमा बम विस्फोट

बुलेटिन संवाददाता
२३ भाद्र २०७६, सोमबार १२:०६

२३ भदौ, झापा । आइतबार राति अज्ञात समूहले झापाका दुई स्थानमा बम विस्फोट गराएका छन् । झापाको गौरादह र बिर्तामोडमा आइतबार राति बम विस्फोट गराइएका हुन् ।

विस्फोटबाट गौरादह नगरपालिकाको गाडिमा क्षति पुगेको छ । उक्त गाडी प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएका थिए । त्यस्तै बिर्तामोडको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा पनि विस्फोटबाट क्षति पुगेको छ ।

राति करिब साढे १२ बजेको समयमा नगरपालिकाको गाडीमा बम विस्फोट गराइएको प्रहरीले बताएको छ । उक्त विस्फोटमा परी नगरपालिकाको बा २ झ २५७० नम्बरको गाडी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

नगरपालिकाको गाडीमा विस्फोट गराइएपछि कार्यालयमा पनि शंकास्पद बस्तु हुनसक्ने भन्दै प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोली झिकाएको छ । झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले सो स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

त्यस्तै बिर्तामोडस्थित सहारा नेपाल सहकारीको नवनिर्मित भवनमा भने आइतबार राति साढे ११ बजे विष्फोट गराइएको बताइएको छ । विष्फोटका कारण सहकारीको गेट, गार्ड रुम, भवनमा प्रयोग गरिएका सिसा फुटेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म घटनाका सम्बन्धमा कसैले पनि जिम्मेवारी लिएको छैन । उता प्रहरीले दुईजनालाई घटनामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको छ ।