शिक्षा दिवसको सन्दर्भमा विविध कार्यक्रम

दिवसको नारामा विमती
बुलेटिन संवाददाता
२२ भाद्र २०७६, आईतवार २०:४३

पाल्पा २२, भाद्र ।
चालिसौं अन्तर्राष्ट्रिय शिक्षा दिवस पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला सदरमुकाम र ग्रामिण क्षेत्रमा रहेका स्थानीय तहमा अलग–अलग कार्यक्रम आयोजन गरी दिवस मनाइएको हो । दिवसको सन्र्दभमा शिक्षक विद्यार्थी सम्मान, सांस्कृतिक कार्यक्रम, शैक्षिक अन्तरक्रिया, सरसफाई, नगरपरिक्रमा लगायतका कार्यक्रम गरिएको स्रोतले जनाएका छन् ।

यसैबीच तानसेन नगर शिक्षा समितिले ४० औं अन्तर्राष्ट्रिय शिक्षा दिवसको सन्दर्भ पारेर पाल्पामा लोक नृत्य प्रतियोगिता र नगर परिक्रमा एवं शिक्षक विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न ग¥यो । तानसेन नगरपालिका नगर शिक्षा समितिले शिक्षा दिवस तथा साक्षरता दिवसको सन्दर्भ पारेर शनिबार तानसेनमा माध्यमिक विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गरेको थियो भने आइतबार नगर परिक्रमसहित सभाको आयोजना गरेको थियो ।

शिक्षा दिवको कार्यक्रममा निजी विद्यालयबाट सहभागी भएपनि दिवसको नाराले भने सार्वजनिक शिक्षा प्रणालीलाई मात्र समेटेको भन्दै निजी विद्यालयका सरोकारवालाहरूले विमती जनाए । कार्यक्रमको नारा ‘हामी सवैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण’ भन्ने छ तर निजीस्तरलाई राज्यले उपेक्षा गरेजस्तो अनुभूत गरेका छौं’ सरोकारवालाले सञ्चारकर्मीलाई जानकारी दिए ।

कार्यक्रम तानसेन नगर शिक्षा समितिका संयोजक सोमनाथ अर्यालको अध्यक्षता, स्वागत सुशीला रेग्मी र समितिका सदस्य भेषराज सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगितामा १४ विद्यार्थी सहभागी थिए । सहभागी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रथम द्वितीय र तृतीय र सान्त्वना हुनेलाई क्रमश १० हजार, सात हजार पाँच सय, पाँच हजार र दुई हजार पाँच सय प्रदान गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा दमकडा मा.वि.को समूह पहिलो भएको थियो ।

यस्तै दिवसको सन्दर्भ पारेर तानसेनमा आइतबार नगर परिक्रमा, शिक्षक सम्मान र सभाको आयोजना गरिएको थियो । यस्तै बगनासकाली गाउँपालिकामा शैक्षिक शैक्षिक सुधारबारे छलफल सहितको अन्तरक्रिया तथा शिक्षक विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले विद्यालयहरूलाई गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाबाट हुने सहयोगमा कुनै कमी नगर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम गाउँपालिकाका बालमैत्री फोकल पर्सन मनोज आचार्यले गरेका थिए ।

यस्तैगरी आइतबार नै रिब्दीकोट गाउँपालिकाले रक्तदान, सरसफाई र शिक्षक विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरि चालिसौं राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको गाउँपालिका स्रोतले जानकारी दिएको छ । दिवसको अवसरमा जिल्लामा अन्य स्थानीय तह र विभिन्न विद्यालयले पनि कार्यक्रम आयोजना गरेका थिए ।