परम्परागत सेवा प्रवाहले नागरिकका आकांक्षा पूरा हुँदैन : मुख्यमन्त्री गुरुङ

बुलेटिन संवाददाता
२२ भाद्र २०७६, आईतवार १५:५७

२२ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा विगतको जस्तो परम्परागत सेवा प्रवाहले नागरिकका आकांक्षा पूरा गर्न नसकिने बताएका छन् ।

निजामति सेवा दिवसको अवसरमा आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलायले पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले निजामती कर्मचारीहरुले बदलिँदो परिस्थितिअनुसार काम गर्न सक्नुपर्नेमा जोड दिए ।

देशमा संघीयता कार्यान्वयन भइसके पनि कर्मचारीहरुको कार्यशैली पुरानै ढाँचाको रहेको उनको भनाइ छ । मुख्यमन्त्री गुरुङले कर्मचारीको व्यवहार यस्तो हुनुमा संघीय सरकारको कमजोरी रहेको औंलाए । ‘प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीलाई एक दिन पनि संघीयताबारे तालिम दिएनौं,’ उनले भने, ‘यसले पनि कर्मचारीले दिने सेवामा केही असर पक्कै परेको छ ।’

मुख्यमन्त्री गुरुङले प्रदेश लोक सेवा विधेयक पारित भैसकेकाले अब आफैं कर्मचारी भर्ना गरी कर्मचारीतन्त्रमा केही नयाँपन दिने मुख्यमन्त्री गुरुङले योजना सुनाए । गण्डकी प्रदेशले यसअघि नै स्टाफ कलेजसँगको सहकार्यमा प्रदेशको कर्मचारी संरचना हेरफेरको तयारी गर्दैछ । र

कार्यक्रममा प्रदेश सभामुख नेत्रनाथ अधिकारीले संविधानको मर्म र भावाना अनुकूल कर्मचारीले सेवा दिन सक्नुपर्नेमा जोड दिए । संविधानले जनतालाई सबैभन्दा उच्च पदमा राखेकाले कर्मचारीको जनताप्रतिको सेवा प्रवाह सोहीअनुसार हुनुपर्ने बताए ।

प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्यालले राजनीतिक नेतृत्वले गर्ने निर्णयको कार्यान्वयन गर्ने महत्वपूर्ण निकाय निजामती क्षेत्र भएकाले सोहीअनुसार आफ्नो जिम्मेवारी निभाउन निर्देशन दिए ।