भारतका पूर्व कानुनमन्त्री तथा वकिल जेठमलानीको निधन

बुलेटिन संवाददाता
२२ भाद्र २०७६, आईतवार १४:४९

२२ भदौ, नयाँ दिल्ली । चर्चित वकिल तथा भारतका पूर्व कानुनमन्त्री राम जेठमलानीको ९५ वर्षको उमेरमा निधन भएको छ । उनको आइतबार बिहान निधन भएको हो ।

उनी अटलबिहारी बाजपेयीको सरकारमा कानुनमन्त्री भएका थिए । जेठमलानी बार काउन्सिलका अध्यक्ष समेत भएका थिए ।  उनी भारतमा ‘हाई प्रोफाइल आपराधिक मुद्दा’ लडेर चर्चामा आएका थिए । उनी भारतका प्रतिष्ठित व्यक्ति पनि हुन् । जेठमलानीको जन्म १४ सेप्टेम्बर १९२३ मा भएको थियो ।

१७ वर्षको उमेरमा नै कानुनमा डिग्री लिएका उनको जन्म पाकिस्तानमा भएको थियो । यद्यपि उनी भारत-पाकिस्तान विभाजनका समयमा भारत आएका थिए ।  सन् १९५९ मा नै उनी नानावती मुद्दामा बहस गरेर चर्चामा आएका थिए । त्यसपछि उनी फौजदारी कानुनको क्षेत्रमा चर्चित पात्र बने । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।

उनका छोरा महेश जेठमलानी र छोरी रानी जेठमलानी चर्चित वकिल हुन् । सन् २०१४ को आम निर्वाचनअघि जेठमलानीले नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए । तर मोदी प्रधानमन्त्री बनेपछि छिट्टै उनी मोदीको विरोधी बनेका थिए ।

२०१५ मा अरुण जेट्लीले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालमाथि मानहानीको मुद्दा दर्ता गरेपछि जेठमलानीले नै केजरीवालको पक्षमा बहस गरेका थिए । (एजेन्सी)