मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अर्थमन्त्री खतिवडा

बुलेटिन संवाददाता
२२ भाद्र २०७६, आईतवार १३:०१

२२ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भईरहेको बताएका छन् । अर्थतन्त्रलाई नै बदनाम गर्ने प्रयास भएको उल्लेख गर्दै मन्त्री खतिवडाले त्यसो नगर्न सचेत गराएका छन् ।

अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको उनको दाबी छ । यस्तो कार्यले कसैलाई पनि फाइदा नपुग्ने उनको भनाइ थियो ।

आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सव आइतबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कसैले पनि गर्न नहुने बताए ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले अघि बढेको सरकारको तथ्यांक सही भएको तर त्यसलाई असत्य भनेर अन्तर्राष्ट्रिय दाताहरुलाई भ्रम छर्ने काम भइरहेकोमा आपत्ति जनाए ।

अर्थमन्त्री खतिवडाले पूँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायलाई निर्देशन पनि दिए । उनले सरकारले उत्पादनमा जोड दिएर पूँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको दाबी गरे ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्र पहिचान गरिरहेको पनि बताए ।