महाकाली नदीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे गाडीको आवागमनमा रोक

बुलेटिन संवाददाता
२१ भाद्र २०७६, शनिबार १७:५५

२१ भदौ, कञ्चनपुर । शुक्रबार रातिदेखि परेको भारी वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । कञ्चनपुर लगायत चुरे क्षेत्रमा परेको भारी वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको हो ।

शनिबार दिउँसो २ बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ३४ हजार ८ सय क्यूसेक रहेको इलाका प्रहरी कार्यालय गड्डा चौकीले जनाएको छ । नदीमा पानीको बहाव एक लाख नाघेपछि भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे गाडीको आवागमनमा रोक लगाएको छ ।

सामान्यता पानीको बहाव एक लाख नाघेपछि पुलको सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले चार पाङ्ग्रे गाडीको आवागमनमा रोक लगाउने गरेको छ । आवागमन बन्द भएपछि भारतबाट नेपाल आउँदै गरेका सवारीसाधन पुल पारि रोकिएका छन् ।

यस्तै, साइकल तथा पैदल यात्रीलाई भने आवतजावत गर्न दिइएको छ । यता, नदीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले भीमदत्त नगरपालिका–११, १२ तथा महाकाली नगरपालिकाको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।