एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकास‌ँग पराजित

बुलेटिन संवाददाता
२० भाद्र २०७६, शुक्रबार १७:५८

२० भदौ, काठमाण्डौ । एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंकासँग पाँच विकेटको हार ब्यहोरेको हो । श्रीलंकाको आर प्रेमदासा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

पहिले ब्याटिङ गरेको नेपालले दिएको १६० रनको मध्यम लक्ष्य श्रीलंकाले ३३ ओभर चार बलमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । श्रीलंकालाई जित दिलाउनका लागि कामिल मिसाराले ५५ रनको पारी खेले । उनले ६२ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए ।

यस्तै अहान विक्रमासिंंघेले पनि ३० रन जोडे । निपुन धनञ्जयाले १८ रन बनाए भने अभिष्का थारिन्दुले अविजित २५ रन जोडे । बलिङतर्फ रशिद खानले दुई विकेट लिए भने पवन सर्राफ र सागर ढकालले एक एक विकेट लिए ।

वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि रित गौतमले ५४ रनको अर्धशतकीय योगदान दिएका थिए । त्यस्तै रोहित कुमार पौडेलले ४७ रन बनाए । राशिद खानले १५ रन तथा हरि चौहानले १२ रनको योगदान दिएका थिए । अन्यको प्रदर्शन खराब रह्यो ।

नेपाललाई कम स्कोरमा रोक्नका लागि श्रीलंकाका दिलसान मदुशंका र नभोद पारानाभिथानाले तीन-तीन विकेट तथा रोहण सञ्जया र आशियान डेनियलले १-१ विकेट लिएका थिए । अब नेपालले आइतबार बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ ।