यातायात क्षेत्रलाई चाँडै व्यवस्थित गर्छौं : मुख्यमन्त्री गुरुङ

बुलेटिन संवाददाता
१९ भाद्र २०७६, बिहीबार १७:१८

१९ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई चाँडै व्यवस्थित गरिने बताएका छन् । संघ सरकारले अझै यातायातसम्बन्धी ऐन निर्माण नगरेकाले प्रदेशले सोही ऐन पर्खिरहेको उनले बताए ।

गण्डकी ट्रक व्यावसायी संघको २० औं अधिवेशनको उदघाटन समारोहमा मुख्यमन्त्री गुरुङले संघको ऐन आएपछि प्रदेशले यातायात क्षेत्रलाई व्यवस्थित गरिने प्रतिवद्धता जनाए । ‘संघले ऐनको ड्राफ्ट गरिरहेको छु भनिरहेको छ, सोही ऐनअनुसार प्रदेशको ऐन बन्नुपर्ने भएकोले हामीले यातायातलाई व्यवस्थित गर्न सकिरहेका छैनौ,’ उनले भने, ‘अब चाँडै व्यवस्थित हुन्छ ।’

प्रदेश सरकारको राजस्व संकलन हुने क्षेत्रमध्ये यातायात क्षेत्र पनि प्रमुख क्षेत्र भएकाले यसलाई व्यवस्थित गर्न काम प्रदेश सरकारको प्राथमिकतामा परेको मुख्यमन्त्री गुरुङको भनाइ छ । यातायात क्षेत्रलाई प्रोत्साहित गर्न विभिन्न नीति प्रदेश सरकारले ल्याइरहेको बताउँदै उनले अन्य प्रदेशमा रहेका सवारीसाधन प्रदेशमा स्थानान्तरण गर्दा २५ प्रतिशत छुट दिने नीति त्यसैको उदाहरण भएको प्रष्ट्याए ।

अर्को सन्दर्भमा मुख्यमन्त्री गुरुङले विदेशी लगानीलाई प्रोहत्सन गर्न सबैले सहयोग गर्नुपर्ने आग्रह गरे । ठूलठूला लगानीहरु अहिले विभिन्न आन्दोलन र हड्तालका कारण प्रदेशमा आउ हिच्किचाइरहेको बताउँदै उनले यो प्रवृत्ति प्रदेशको विकासका लागि घातक हुने बताए ।

उनले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारले कुनै कसर बॉकी नराख्ने भन्दै निजी क्षेत्रको सहयोगबाट मात्र प्रदेशले मध्यकालिन लक्ष्य प्राप्त गर्न सक्ने बताए