मुख्यमन्त्री राउत भन्छन् – ‘बेटी बचाउ, बेटी पढाऔँ’

बुलेटिन संवाददाता
८ भाद्र २०७६, आईतवार १४:१७

८ भदौ, बारा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाऔँ’ प्रदेश सरकारको अभियानलाई उचाइमा पु¥याउनका लागि सबैलाई आग्रह गरेका छन् ।

कलैयास्थित नेरा मावि मदर्शामा ‘मुख्यमन्त्री बेटी बचाऔँ बेटी पढाऔँ’ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रममा उनले समाजमा छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको दाबी गरे ।

समाजमा छोरीलाई विभिन्न प्रकारले हेला गर्न थालेका कारण प्रदेश नम्बर २ सरकारले सो अभियान ल्याएको मुख्यमन्त्री राउतले बताए । छोरा सरह छोरीलाई पनि शिक्षाको मूलधारमा ल्याउन अभियान निकै सार्थक भएको उनको भनाइ छ ।

मुख्यमन्त्री राउतले सङ्घीय सरकारका कारण प्रदेशमा चाहे जस्तो विकास गर्न नसकेको आरोप लगाए । उनले भने, ‘प्रदेश नं २ लाई सङ्घीय सरकारले कुदृष्टिले हेरिरहेको छ ।’

प्रदेश नम्बर २ का अर्थ राज्यमन्त्री उषा यादवले तराई मधेशको जनताको अधिकार दिलाउनका लागि प्रदेश सरकार लागिपरेको बताइन् । कार्यक्रममा सांसद राम बाबुकुमार यादव, प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, पारस साह, मोहमद समिर, प्रल्लाह गिरी, जगत अन्सारी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा कक्षा ८ मा अध्ययनरत ९२ छात्रालाई मुख्यमन्त्री राउतले साइकल वितरण गरेको शिक्षिका सावित्री शर्माले जानकारी दिइन् ।