उत्पादनमुखी लगानीले मात्र मुलुक समृद्ध बन्छ : योजना मन्त्री गुरुङ

बुलेटिन संवाददाता
७ भाद्र २०७६, शनिबार १८:२२

७ भदौ, पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उत्पादनमुखी लगानीले मात्र मुलुक समृद्ध बन्ने बताएका छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन गर्दै मन्त्री गुरुङ रेमिट्यान्स र घरजग्गा किनबेचले मुलुक समृद्ध नबन्ने बताएका हुन् । ‘रेमिट्यान्स र घरजग्गा किनबेचले व्यक्ति धनी हुनसक्छ’ मन्त्री गुरुङले भने, ‘उत्पादनमुखी व्यवसायले मात्र मुलुकलाई समृद्ध बनाउनेछ ।’

उत्पादनमुखी क्षेत्रमा लगानी गर्न नसक्दा व्यापार घाटा बढ्दै गएको भन्दै मन्त्री गुरुङले राजनीतिक परिवर्तनसँगै आर्थिक क्षेत्रको परिवर्तनका लागि सबै क्षेत्र लाग्नुपर्ने बताए ।

राजनीतिक संक्रमणपछि बल्ल स्थायित्व प्राप्त भएको भन्दै उनले अहिले आर्थिक परिवर्तनको संक्रमणकालीन स्थितिमा रहेको बताए ।

दीगो रुपमा व्यापार व्यवसाय बढ्न नसकुञ्जेल मुलुक समृद्ध बन्न नसक्ने भन्दै मन्त्री गुरुङले पुर्खाले कमाएको सम्पत्तिबाट नभई ऋण गरेर व्यापार व्यवसाय गर्दा दीर्घकालीन हुने समेत सुझाव दिए ।

सहकारीको माध्यमबाट गरिबी उन्मुलनका लागि महत्वपूर्ण योगदान पुगेको भन्दै मन्त्री गुरुङले सहकारीको क्षेत्रलाई थप व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा सहकारीविज्ञ केशरबहादुर थापा, अनन्तबहादुर राई लगायत वक्ताहरुले सहकारीको आवश्यकता र औचित्यताका बारेमा स्पष्ट पारेका थिए ।

सहकारीका अध्यक्ष भूपेन्द्र राईको अध्यक्षतामा भएको साधारणसभामा शेयर सदस्य, कर्मचारी, शेयर सदस्यका एसईई गरेका छोराछोरीलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा करिब पाँच सयजनाको उपस्थिति थियो ।