पहिरोमा घर, श्रीमती र दुई छोरा गुमाएका विष्णुकुमारलाई राहत प्रदान

बुलेटिन संवाददाता
७ भाद्र २०७६, शनिबार १८:१७

७ भदौ, खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई प्रदेश नम्बर १ सरकारले राहत प्रदान गरेको छ ।

गत असार २७ गते पहिरोले घर बगाउँदा श्रीमती रेखा राई, चार वर्षीय छोरा रोमन र सात महिने शिशु रोजन गुमाएका विष्णुकुमारलाई प्रदेश सरकारले राहत स्वरुप छ लाख रुपैयाँ प्रदान गरेको हो ।

राहत रकमको चेक प्रदेशसभा सदस्य उषाकला राईले शनिबार खोटेहाङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पीडित विष्णुमारलाई हस्तान्तरण गरिन् । प्रदेश सरकारले प्रति मृतकलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय अनुसार विष्णुकुमारलाई तीन जनाको छ लाख रुपैयाँ प्रदान गरिएको हो ।

पहिरो पीडित राईलाई प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ ४ गते जिल्ला प्रशासन कार्यालय खोटाङलाई राहत रकम बापतको चेक पठाएको थियो । घर तथा आफन्त गुमाएर एक्लिएका विष्णुकुमारलाई प्रदेश सरकारले महिना दिनपछि मात्र राहत रकम उपलब्ध गराएको हो ।

विष्णुकुमारको सहज जीवनयापनका लागि भन्दै महेन्द्रनगर सुनसरी सेवा समाज कतारले पनि केही समयअघि ४० हजार रुपैयाँ प्रदान गरेको थियो । श्रीमती र दुई छोरासँगै पहिरोमा पुरिएका विष्णुकुमारलाई आफन्तले उद्धार गरेर बचाएका थिए ।

पहिरोमा पहिरोका कारण सर्वस्व गुमाउनुभएका विष्णकुमारलाई गाउँपालिकाले पनि किरिया खर्च तथा अन्य खर्च प्रदान गरेको थियो ।