गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भाव बलियो होस् : उपराष्ट्रपति पुन

बुलेटिन संवाददाता
६ भाद्र २०७६, शुक्रबार १२:१५

६ भदौ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भाव बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वको अवसरमा शुक्रबार शुभकामना सन्देश दिंदै उनले नेपालीहरुमा सुख, शान्ति, समृद्धि र राष्ट्रको निरन्तर समुन्नतीको शुभकामना समेत व्यक्त गरेका छन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष राष्ट्र हो । भाषा, धर्म, कला, संस्कार र संस्कृतिमा हामी विशाल छौँ’, उपराष्ट्रपति पुनले शुभकामना सन्देशमा भनेका छन्, ‘सुन्दर सुदूरपश्चिम प्रदेशलाई गौरा पर्व र सो अवसरमा नाचिने देउडामा गाइने पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ, देउडाका माध्यमबाट महिलाहरुले पोख्ने सुख–दुःख र सामाजिक विकृतिविरुद्ध गरिने व्यङ्ग्य जस्ता संस्कार संस्कृतिले झनै सुन्दर बनाएको छ । गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै होइन नेपाल राष्ट्रकै पहिचान हो ।’

उपराष्ट्रपति पुनले गौरा पर्व लगायत मौलिक पर्वहरुको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । ‘गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर मनाइने गौरा पर्वले धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता खुशी हुने जस्ता जनविश्वास छन्’, उनले सन्देशमा भनेका छन्, ‘२०७६ को गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने मेरो विश्वास छ ।

गौरा पर्व लगायत हाम्रा मौलिक चाडको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।