तीन महिनाभित्रै निर्माण कार्य थालनी गर्नुस् : मुख्यमन्त्री शाही

बुलेटिन संवाददाता
५ भाद्र २०७६, बिहीबार १३:१७

५ भदौ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले तीन महिनाभित्रै निर्माण कार्य थालनी गर्ने गरी योजना कार्यान्वयन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी लिएपछि पहिलो पटक बुधबार मन्त्रालय पुगेका मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् । उनले भोलिदेखि नै बजेट कार्यान्वयनको तयारी शुरु गर्न निर्देशन दिएका छन् ।

उनले भने, ‘‘पहिलो महिनाभित्र सर्भे, डिजाइन, स्टिमेटको काम पूरा गर्ने, दोस्रो महिना सार्वजनिक खरिद तथा टेण्डरको कार्य पुरा गर्ने र तेस्रो महिनादेखि निर्माण कार्यको काम अगाडि बढाउने गरी काम थालनी गर्नुस् ।’

मुख्यमन्त्री शाहीले योजना निर्माण तथा बजेट विनियोजनको कार्य सम्पन्न भएको महिनौं बितिसक्दा पनि मन्त्रालयले कार्यान्वयनको प्रक्रिया शुरु नभएकाप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

भौतिक पुर्वाधार विकास मन्त्रालयको गतवर्षको प्रगति निराशाजनक रहेको भन्दै मुख्यमन्त्री शाहीले जनतालाई संघीय व्यवस्थाको फाईदा अनुभुति हुने गरी मन्त्रालयले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

नक्कली बैंक ग्यारेण्टीपत्र जारी गरेको अभियोगमा अदालतले पक्राउ गर्न आदेश दिएपछि मुख्यमन्त्री शाहीले तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई गत साता बर्खास्त गरेका हुन् । यसपछि खाली रहेको उक्त मन्त्रालयको जिम्मेवारी उनले लिएका हुन् ।